धनगढी : सुदूरपश्चिम प्रदेशका आर्थिक मामिला मन्त्री सुरेन्द्रबहादुर पालले सबै क्षेत्रलाई समेटेर समानुपातिक हिसाबले बजेट ल्याएको बताएका छन् ।
शनिबार प्रदेश सभामा अगामी आर्थिक वर्ष २०८१/८२ का लागि प्रस्तुत गरिएको बजेटबारे आर्थिक मामिला मन्त्रालयले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै मन्त्री पालले विगतमा भन्दा राम्रो र सन्तुलित बजेट ल्याएको दाबी गरेका हुन् ।
‘मैले मन्त्रालयको जिम्मेवारी पाएको छोटो समयमा बजेट ल्याउनुपर्ने अवस्था थियो । प्रदेशका ९ वटा जिल्ला, क्षेत्र र भूगोललाई समेटेर समाानुपातिक हिसाबले बजेट ल्याएका छौँ,’ पालले भने, ‘यो बजेट पहिले भन्दा राम्रो हो की भन्ने लागेको छ ।’
उनले कानुनी हिसाबले नमिल्ने, दोहोरो भएका बाहेक विषयगत मन्त्रालयहरुले सिफारिस गरेअनुसारकै सिलिङका आधारमा कार्यक्रम तथा योजना बजेटमा हालिएको समेत बताए ।
खर्च व्यहोर्ने स्रोतमा आन्तरिक आय धेरै नभएका कारण अनुदानकै भर पर्नुपर्ने अवस्थाले कार्यान्वयन भने चुनौतीपूर्ण हुने उनको भनाई थियो ।
मन्त्री पालले शनिबार अगामी आर्थिक वर्षको लागि ३१ अर्ब ६२ करोड ९८ लाख २८ हजार बराबरको बजेट प्रदेश सभामा प्रस्तुत गरेका थिए । चालु वर्षको बजेट खर्चको अवस्था सन्तोशजनक नरहेका बेला झण्डै साढे २ अर्बले आकार बढाएर सरकारले बजेट ल्याएको हो ।
खर्च नहुने तर बजेटको आकार बृद्धि भइरहने प्रवृत्तिलाई अगामी वर्षदेखि निरुत्साहित गर्ने दाबी समेत गरिएको छ ।
प्रदेश सभाबाट बजेट पारित भएपछि साउनदेखि ठेक्का बन्दोबस्तको प्रक्रिया अघि बढाएर बजेट कार्यान्वयनलाई गति दिने मन्त्री पालले बताए ।