धनगढी: प्रतिपक्षी दलहरूले सदन चल्न नदिएपछि सुदूरपश्चिमका प्रदेशसभाकाे पाँचौ अधिवेशन अन्त्य गरिएको छ। साेमबार बसेकाे प्रदेश मन्त्रीपरिषद्काे बैठकले अधिवेशन अन्त्य गर्ने निर्णय गर्दै प्रमुख प्रमुखलाई सिफारिस गरेकाे थियो।
प्रदेश प्रमुख नजिर मियाँले साेमबार राति १२ बजेदेखि लागू हुनेगरी संविधानको धारा १८३ को उपधारा (२) बमोजिम अधिवेशन अन्त्य गरेकाे प्रदेशसभा सचिवालयका सूचना अधिकारी युवराज जैशीले जानकारी दिए।
२७ साउन २०८१ मा प्रदेश प्रमुखले सभाकाे पाँचौ अधिवेशन आह्वान गरेका थिए।
सुदूरपश्चिममा प्रतिपक्षी दल माओवादी केन्द्र, एकीकृत समाजवादी, राप्रपा र स्वतन्त्र प्रदेशसभा सदस्यहरुले निरन्तर रुपमा प्रदेशसभा बैठकमा विरोध गर्दा बैठक चल्न सकेको थिएन। उनीहरूले प्रदेश सरकारले फजुल खर्च बढाएको, अनावश्यक नियुक्ति गरेको आरोप लगाउदै आएका थिए।
यस्तै, दिगो वन व्यवस्थापन सम्बन्धि कार्यविधि बनाउन आर्थिक चलखेल गर्ने अडियो सार्वजनिक भएपछि प्रतिपक्षी दलहरूले उच्चस्तरीय छानबिनको पनि माग गर्दै आएका थिए।