धनगढी: बैतडीको पाटन नगरपालिका–६ का ४५ वर्षीय वीरभानसिंह विष्टको हत्याको आरोपमा तीनजना पक्राउ परेका छन्। पक्राउ पर्नेमा पाटन–६ की २६ वर्षीया भागरथी विष्ट, पाटन–१ का २२ वर्षीय राजेन्द्र भट्टराई र २३ वर्षीय किशोर भट्टराई रहेको प्रहरीले जनाएको छ।
भागरथीलाई घरबाटै, राजेन्द्र र किशोरलाई भागिरहेका अवस्थामा डडेल्धुराको भत्काडाबाट पक्राउ गरिएको बैतडीका प्रहरी प्रवक्ता प्रहरी वरिष्ठ नायब निरीक्षक भूपाल थापाले जानकारी दिए।
तीन दिनदेखि बेपत्ता रहेका वीरभानको शव प्लास्टिकले बेरेको अवस्थामा सोमबार दिउँसो पाटन–पञ्चेश्वर सडकखण्ड अन्तर्गत घाङल खोलामा भेटिएको थियो। मृतक विष्ट असार १ गतेदेखि सम्पर्कविहीन थिए। विष्टलाई बेपत्ता पारेको भन्दै आफन्तले सोमबार इलाका प्रहरी कार्यालय पाटनमा भागरथीको नाममा उजुरी दिएका थिए। त्यसपछि निवेदन दिएको केही समयपछि भागरथीलाई प्रहरीले घरबाटै पक्राउ गरेको हो।
विस्टको शव व्यवस्थापनमा सहयोग गरेको आरोपमा राजेन्द्र र किशोरलाई पक्राउ गरेको हो। शव व्यवस्थापनमा सहयोग गरेका थप एक जना अझै फरार रहेको र उनको खोजी जारी रहेको प्रहरी वरिष्ठ नायब निरीक्षक थापाले बताए।
मृतक विष्टको शव परीक्षणका लागि पाटन प्राथमिक स्वास्थ्य केन्द्रमा राखिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ।