बाजुरा– बाजुरामा नेपाली कांग्रेस र नेकपा (एकीकृत समाजबादी)का कार्यकर्ताबीच झडप भएको छ । जिल्लाको बढिनन्दा नगरपालिका–९ मा पाण्डुसैनमा भएको झडपमा १६ जना प्रहरीसहित २० जना घाइते भएका छन् ।
नेकपा एकीकृत समाजबादीका कार्यकर्ताले कुकुरलाई हिर्काएको आरोपमा कांग्रेस कार्यकर्ताले ढुंगामुढा गरेपछि दुई पक्षबीच दोहोरो झडप भएको बाजुरा प्रहरीले जनाएको छ । झडपका क्रममा एकीकृत समाजबादी पार्टीका जिल्ला सचिव पुरबहादुर रावतमाथि चक्कु प्रहार भएको छ । रावतसहित एकीकृत समाजबादीका दुई र कांग्रेसका दुई जना घाइते भएका छन् ।
कांग्रेस कार्यकर्ताले समाजवादीका कार्यकर्ताहरुलाई प्रहरीले संरक्षण गरेको भन्दै प्रहरी चौकी तोडफोड गरेका छन् । चौकी तोडफोड हुन थालेपछि प्रहरीले हवाई फायर गरेको बाजुरा प्रहरीका सूचना अधिकारी प्रहरी निरीक्षक बिन्द्र बोगटीले बताए ।
उनका अनुसार स्थिति अझै नियन्त्रणमा आइसकेको छैन । झडपलाई नियन्त्रण हुन नसक्दा जिल्लास्थित प्रमुख जिल्ला अधिकारी उपेन्द्रराज पौडेल र सुरक्षा निकायका प्रमुखहरु थप सुरक्षासहित घटना स्थलतिर गएका छन् ।
प्रहरीले १६ राउण्ड हावाई फायर गर्दा पनि स्थिति नियन्त्रणमा आउउन नसकेपछि सुरक्षा निकायका प्रमुख सहितको टोली घटना स्थलतिर गएको प्रहरी निरीक्षक बिन्द्र बोगटीले बताए ।