काठमाडौं: नेपाल प्रहरीकी ‘विवादित’ इन्सपेक्टर बिनुकुमारी शाहीको एरियामा गुण्डागर्दी बढेको पाइएको छ। हालै प्रहरी प्रधान कार्यालयले शाहीलाई भैंसेपाटीको इन्चार्जको कमाण्ड दिएर पठाएपछि सो क्षेत्रमा गुण्डागर्दी मौलाएको पाइएको हो।
कमजोर कमाण्डकी अधिकृत मानिने शाहीले कमाण्ड सम्हालेपछि दिनदहाडै गुण्डागर्दी र खुकुरी प्रहारका घटनाहरु बढ्न थालेका हुन्। उनको कमजोर कमाण्डकै कारण घटनाहरु बढेको बताइएको छ।
आज (शुक्रबार) मात्रै उनको एरियामा एक व्यापारीमाथि खुकुरी प्रहार भएको छ। कटेज सञ्चालन गर्नका लागि कटेज बनाउने क्रममा एक जना व्यापारीमाथि खुकुरी प्रहार भएको हो। ललितपुर प्रहरी परिसरका अनुसार स्थानीय व्यापारी ४२ वर्षीय मनोज कुमार बानियाँमाथि दिउँसो खुकुरी प्रहार भएको हो। बानियाँले कटेज रङरोगन गर्ने क्रममा २ वटा मोटरसाइकलमा आएका ४ जनाको समूहले खुकुरी प्रहार गरेको बताइएको छ।
अहिले ती फरार ४ जनाको पहिचान भैसकेको र अहिले खोजी कार्य जारी रहेको प्रहरी परिसर ललितपुरका एसपी नरेश सुवेदीले महेन्द्रनगरपोष्टलाई बताए। घाइते व्यापारीको भने मेडिसिटी अस्पतालमा उपचार भैरहेको बताइएको छ।
को हुन् ‘विवादित’ इन्सपेक्टर बिनुकुमारी ?
शाही उनै विवादित इन्सपेक्टर हुन्, जो यस अगाडि जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा कार्यरत हुँदा कारबाहीमा समेत परेकी थिइन्। विभिन्न घटनाहरुमा उनलाई विभागीय कारबाही भएको थियो। पछिल्लोपटक उनी कञ्चनपुरमा हुँदा थुनुवामाथि ज्यादती गरेको लगायतका घटनामा विवादित बनेकी थिइन्। त्यसपछि तत्कालीन एसपी कमल थापासहित उनीमाथि विभागीय अनुसन्धानसमेत भएको थियो।
त्यस अगाडि कञ्चनपुरमै रिपोर्टिङका क्रममा पत्रकारहरुमाथि अप्रिय व्यवहार देखाएको भन्दै उनीसहित चार प्रहरी कर्मचारीलाई विभागीय कारबाही गरिएको थियो। गत वर्षको बैशाखमा महेन्द्रनगरको सुकासाल चोकमा प्रहरी र भारतबाट क्यारिङमा सामान बोक्नेहरुबीच झडप भइरहेका बेला भिडिओ खिचिरहेको अवस्थामा पत्रकार राजेन्द्र नाथ र ऐश्वर्या कुँवरलाई प्रहरीले नियन्त्रणमा लिएको थियो।
सोही घटनामा बिनुकुमारीलाई कारबाही गरिएको थियो। उनै शाहीको केही समय अगाडि कञ्चनपुरबाट प्रहरी प्रधान कार्यालयको अपराध अनुसन्धान विभाग संघीय अपराध अनुसन्धान शाखा नक्साल काठमाडौंमा सरुवा भएको थियो। तर त्यहाँबाट पनि उनलाई ललितपुरस्थित महानगरीय प्रहरी प्रभाग भैंसेपाटीमा खटाइएको थियो।
सो प्रभागमा इन्सपेक्टरको दरबन्दी भने छैन। तर बजेट बिनाको सो प्रभागमा शाहीलाई कमाण्ड दिएर काजमा खटाइएको हो।
र, यो पनि: ‘विवादित’ इन्सपेक्टर बिनुकुमारी अब भैंसेपाटीतिर
कञ्चनपुरकी ‘विवादित’ बिनुकुमारीसहित सुदूरपश्चिमका ५१ इन्सपेक्टर यताउता
कञ्चनपुरकी ‘विवादित’ इन्सपेक्टर बिनु पहिले पनि परेकी थिइन् कारबाहीमा
आइपीएसको ट्रेनिङमा जान नपाएको भन्दै इन्सपेक्टर बिनुले झोक्किएर विरोध गर्दा…