धनगढी : भारतिय प्रहरीले चोरीमा संलग्न बझाङका तीन जनालाई गोली हानी नियन्त्रणमा लिएको छ । बझाङको जयपृथ्वी नगरपालिका-३ पडेश घर भएका सुनिल खड्का, प्रताप खड्का र अंकित जोशी प्रहरीसँगको भिडन्तमा पक्राउ परेका हुन् ।
प्रहरीको फरार सूचीमा रहि जनही २५ हजार रुपैँया पुरस्कार तोकिएका उनीहरुलाई उत्तर प्रदेशको मुजफ्फरनगर जिल्लामा प्रहरीसँगको दोहरो गोली हानाहानमा पक्राउ गरिएको मुजफ्फरनगरका एसपी सत्यनारायण प्रजापतीले बताए।
उनीहरुलाई प्रहरीले स्थानीय नयाँ मण्डीका व्यापारी नीरज जैनको घरबाट लाखौं चोरी गरेको आरोपमा खोजिरहेको रहेको थियो । प्रहरीले चोरीमा संलग्न रहेको आरोपमा नेपाली गिरोहका तीन जना सुनिल खड्का, प्रताप खड्का र अंकित जोशी भिडन्तमा पक्राउ परेको र उनीहरु तीनै जनाको खुट्टामा गोली लागेको बताएको छ ।
अझैं चोरीमा संलग्न दुईजना अभियुक्त फरार रहेको मुजफ्फरनगर प्रहरीले जनाएको छ । एसपी सत्यनारायण प्रजापतीका अनुसार भारतमा मजदुरी गर्न गएका उनीहरुले गएको फागुन १२ गते मुजफ्फरनगर जिल्लाको मेहता क्लब नजिकै बस्ने स्थानीय व्यापारी नीरज जैनको घरबाट चोरी गरेका थिए । यस चोरी घटनामा सुनिल खड्का मुख्य योजनाकार रहेको र उनलाई प्रताप खड्का र अंकित जोशी सघाएका थिए ।
बिहीबार राति मण्डी कोतवाली प्रहरीसँगको भिडन्तमा तीनै अभियुक्त घाइते भएका छन् । उनीहरुको साथबाट एक थान नम्बर नभएको मोटरसाइकल, तीन थान पेस्तोल, दुई वटा नक्कली परिचयपत्र, तीन लाख नगद र गरगहना बरामद भएको छ । घाइतेहरुको अस्पतालमा उपचार गराएपछि उनीहरुलाई कारबाही गरिएको हो । अन्य दुई अभियुक्तलाई पक्राउ गर्न तीन टोली गठन गरिएको र छिट्टै पक्राउ गरिने प्रहरीको भनाई छ ।
मण्डी कोतवाली प्रहरीले उक्त गिरोह नेपालबाट आएर दिल्लीमा नेपाल बसोबास गर्नेहरुको बस्तीमा रहेको जनाएको छ । व्यापारीको घरमा काम गर्ने सुनिल खड्का नोएडाबाट एजेन्टमार्फत काम गर्न गएका थिए । चोरी गर्नुअघि उनले कञ्चनपुर जिल्लाको कानपुर कलकत्ता गाउँपालिकाका आफ्ना चार सहयोगी प्रताप खड्का, अंकित जोशी, राजकुमार जोशी र नेपालकै मोहत्री रहेका उत्तर प्रदेशको बाङ्ग्रा जिल्लाको बांगरा गाउँका माधव भनिनेबलिरामलाई मुजफ्फरनगरमा बोलाएको थिए ।
यी गिरोहका सदस्य चार दिनसम्म होटलमा बसेका थिए । व्यवसायी दम्पती बाहिर निस्कँदा नोकर सुनिलको फोनमा उनका चारजना साथी घर पुगेपछि पाँच जना नेपाली युवा चोरेर भागेका थिए । सुनिल र प्रतापले नेपालको दुई फरक ठेगानामा दुईवटा नक्कली परिचयपत्र बनाएका थिए । नक्कली आईडी नोएडा एजेन्टलाई दिइएको थियो। यो गिरोह यसअघि पनि जेल गएको थियो । यसबारेमा जानकारी लिइएको छ । यो गिरोह चोरीमा काम गर्दथ्यो ।
उनीहरु प्रहरीको मोष्ट वान्टेट सुचीमा रहेको र उनीहरुलाई भेटाउनेलाई २५ हजार जनही पुरस्कार समेत तोकेको थियो ।