धनगढीः कैलालीको धनगढीबाट नगदसहित पक्राउ परेका सात जना जुवाडे धरौटीमा रिहा भएका छन्। हिजो (शनिबार) धनगढी उपमहानगरपालिका–३ रिङरोडस्थित हिरा गजुरेलको घरमा जुवातास खेलिरहेको अवस्थामा पक्राउ परेका उनीहरु आज (आइतबार) धरौटीमा थुनामुक्त भएका हुन्।
प्रहरीले हिरा गजुरेलको घरमा जुवातास खेलिरहेको अवस्थामा गजुरेलसहित सात जनालाइ समातेको थियो। उनीहरुलाइ गोप्य सूचनाको आधारमा वडा प्रहरी कार्यालय धनगढी, कैलालीबाट खटिएको प्रहरी टोलीले नगद ६५ हजार ५ सय ५ रुपैयाँ र ३ गड्डी ताससहित समातेको थियो।
यसरी समातिनेमा धनगढी वडानम्बर ३ का पूर्व वडाध्यक्ष बलबहादुर ऐर, नेपाल प्रहरीका पूर्व सई एवं हाल भन्सार एजेन्टको रुपमा कार्यरत मोहनसिंह धामी र व्यापारीहरु कैलाश गुरुङ, धनशेर बिष्ट, बिष्णु लामा र विजय नाथ थिए।
आज उनीहरू १५/१५ हजार धरौटी राखेर थुनामुक्त भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता डीएसपी कबिन्द्र सिंह बोहराले जानकारी दिए।
र, यो पनि: धनगढीमा पूर्व वडाध्यक्षदेखि व्यापारी र सईसम्मकै जुवाडे