धनगढी : कैलाली जिल्लामा संचालित जन्मदर्ता व्यवस्थापन प्रणाली कार्यक्रम तथा समयमै जन्मदर्तालाई प्रोत्साहन गर्ने सामाजिक परिचालन परियोजनाको समिक्षा तथा समापन बैठक सम्पन्न भएको छ । जिआइजेटको सहयोगमा एनएनएसडब्लुए कञ्चनपुरद्धारा सञ्चालित उक्त परियोजनाको समिक्षा बैठ्क आइतबार धनगढीमा सम्पन्न भएको हो ।
उक्त कार्यक्रममा जिल्ला स्वास्थ्य कार्यालय कैलालीका प्रमुख आशुतोश श्रेष्ठले अध्यक्षतामा सुरु भएको थियो भने जानकी गाउँपालिकाका अध्यक्ष गणेश चौधरी प्रमुख अतिथि रहेका थिए।
कार्यक्रममा एनएनएसडब्लुएका कार्यक्रम संयोजक देवराज बडु र जिआइजेटका प्रतिनिधिले प्रस्तुतिकरण राखेका थिए। प्रस्तुतिकरणमा परियोजनाले हासिल गरेका उपलब्धिहरु र तथ्यांकहरुको विवरण प्रस्तुत गरिएको थियो
कार्यक्रममा सहभागी स्वास्थ्यकर्मीहरुले समयमै जन्मदर्तालाई प्रोत्साहन गर्ने यो कार्यक्रम उत्कृष्ट रहेको भन्दै यसलाई निरन्तरता दिनुपर्ने माग गरे। कार्यक्रमका क्रममा समयमै जन्मदर्तालाई प्रोत्साहन गर्ने कार्यक्रमको छलफल र विभिन्न तथ्यांकहरुको बिषयमा समते छलफल भएको थियो ।
परियोजना लागु भएका पालिकाहरुमा जन्मदर्ताको अवस्था वृद्धि भएको तथ्यांकहरु प्रस्तुतिकरणमा देखिएको थियो। साथै परियोजनाले नागरिकमा जन्मदर्ताको महत्व बारे जनचेतना फैलाएको र दर्ता प्रक्रियालाई सरल र प्रभावकारी बनाएको निष्कर्षमा उल्लेख छ।
उक्त परियोजना कैलालीका विभिन्न पालिकाहरुमा सञ्चालन गरिएका गतिविधिहरुबाट जन्मदर्ता सम्बन्धी सूचनाहरुको पहुँच वृद्धि भएको र समुदायमा जनचेतना फैलाउने कार्य सफल भएको थियो। सहभागीहरुले स्थानीय तहमा जन्मदर्ता प्रक्रियालाई थप सहज बनाउन आवश्यक उपायहरुबारे पनि सुझाव दिएका थिए।
कार्यक्रममा सहभागी एक स्वास्थ्यकर्मीले भने, “समयमै जन्मदर्ता गराउँदा बालबालिकाको स्वास्थ्य सेवा, शिक्षा तथा अन्य सरकारी सुविधाहरु प्राप्त गर्न सहज हुन्छ। यस कार्यक्रमले यस विषयमा समुदायलाई सजग गराएको छ।”
प्रमुख अतिथि जानकी गाउँपालिका अध्यक्ष गणेश चौधरीले भने, “हामीले जन्मदर्ता प्रक्रियालाई अझ प्रभावकारी बनाउन र सबैको पहुँचमा पुर्याउन थप प्रयास गर्नुपर्छ। यस कार्यक्रमले हामीलाई यस दिशामा महत्वपूर्ण मार्गदर्शन गरेको छ।”
कार्यक्रममा जिल्ला स्वास्थ्य कार्यालय कैलालीका प्रमुख आशुतोश श्रेष्ठले भने, “जन्मदर्ता व्यवस्थापन प्रणाली र समयमै जन्मदर्ता गराउने परियोजना निकै प्रभावकारी रहेको छ। यसले जनतामा चेतना फैलाएर दर्ता प्रक्रियालाई थप पारदर्शी बनाएको छ। यसलाई निरन्तरता दिन हामी प्रतिबद्ध छौं।”
बैठकमा आगामी दिनहरुमा पनि जन्मदर्ता व्यवस्थापन प्रणाली र समयमै जन्मदर्तालाई प्रोत्साहन गर्ने कार्यक्रमलाई निरन्तरता दिने छलफल भएको थियो ।