काठमाडौं: सशस्त्र प्रहरी बल नेपालका २ अधिकारी कारबाहीमा परेका छन्। आगलागी प्रकरणको छानबिनका क्रममा सशस्त्रका २ ठूला अधिकारी नै कारबाहीमा परेका हुन्।
सशस्त्र प्रहरी प्रधान कार्यालय हलचोकका अनुसार सशस्त्र प्रहरी बल नेपालका नायव महानिरीक्षक (डिआइजी) पुरुषोत्तम थापा र सशस्त्र प्रहरी उपरीक्षक (एसपी) राजेन्द्र श्रेष्ठमाथि कारबाही गरिएको हो।
उनीहरूलाई सशस्त्रको बलम्बुस्थित केन्द्रीय भण्डारमा भएको आगलागीमा प्रकरणको छानबिन गर्दै जादा कारबाही भएको हो। सो प्रकरणमा उनीहरूले गम्भीर लापरबाही गरेको भन्दै डिआइजी थापालाई कारबाहीको लागि भन्दै गृह मन्त्रालयमा लेखी पठाइएको छ भने एसपीलाई प्रधान कार्यालयका प्रमुखले नै कारबाही गरेका छन्।
सशस्त्र प्रहरी प्रधान कार्यालयका प्रवक्ता डिआइजी कुमार न्यौपानेले डिआइजीमाथि कारबाहीको फाइल गृहमा रहेको र अन्तिम निर्णय हुन बाकी रहेको महेन्द्रनगरपोष्टलाई जानकारी दिए। यस्तै उनले एसपीमाथिको कारबाही भने प्रक्रियामा रहेको जनाउँदै प्रधान कार्यालयले नै कारबाही गर्ने जनाए।
स्रोतका अनुसार सशस्त्र प्रहरी प्रमुख (आइजीपी) राजु अर्यालले डिआइजी थापालाई कारबाहीका लागि गृहलाई पत्राचार गरेका थिए। यस्तै एसपी श्रेष्ठको हकमा भने उक्त आगलागीमा पदीय जिम्मेवारी पूरा नगरेको जनाउँदै बढुवा रोक्का गरिएको स्रोतको भनाई छ।
छानबिनका क्रममा उनीहरुले केन्द्रीय भण्डार सुरक्षाको निम्ति आवश्यक सिसिटिभी र २४ घण्टा पहरेदार राख्नुपर्नेमा सो नगरेको पाइएको थियो।
आगलागीबाट सशस्त्रको कम्तीमा ७ करोड रुपैयाँ बराबरको क्षति भएको दाबी गरिएको थियो। सशस्त्र प्रहरीलाई बुझाउने प्रक्रियामै रहेको ठेकेदारको १६ करोड बढीको सामान पनि आगलागीमा जलेको थियो। उक्त सामानको क्षतिपूर्तिका लागि ठेकेदार कम्पनीले भने अदालत जाने अड्डी कसेको बताइन्छ।