काठमाडौं : आर्थिक वर्ष २०८१/८२ को बजेट प्रतिनिधिसभाबाट पारित भएको छ । आजको बैठकमा सभामुख देवराज घिमिरेले ‘विनियोजन विधेयक २०८१’ बहुमतले पारित भएको घोषणा गरे ।
गत जेठ १५ गते अर्थमन्त्री वर्षमान पुनले १८ खर्ब ६० अर्ब ३० करोड रुपैयाँको बजेट प्रस्तुत गर्नुभएको थियो । त्यसमध्ये चालूतर्फ ११ खर्ब ४० अर्ब ६६ करोड, पूँजीगततर्फ ३ खर्ब ५२ अर्ब ५२ करोड र वित्तीय व्यवस्थापनतर्फ ३ खर्ब ६७ अर्ब रुपैयाँ रहेको छ ।
यसबीच प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बजेट तर्जुमामा केही कमजोरी रहेको स्वीकार गर्दै सम्बन्धित मन्त्रीहरुको ध्यानाकर्षण गराएका थिए। उनले अर्थमन्त्री वर्षमान पुन, भौतिक योजनामन्त्री रघुवीर महासेठ र शहरी विकासमन्त्री धनबहादुर बुढालाई बजेट कार्यान्वयनमा सन्तुलन कायम गर्नुपर्नेतर्फ ध्यानाकर्षण गराएका थिए।
केही दिनअघि ती मन्त्रीहरुले आफ्नो निर्वाचन क्षेत्रमा अन्यत्रको तुलनामा बढी बजेट विनियोजना गरेको भन्दै संसदमा चर्को विरोध भएको थियो ।