काठमाडौँ: दक्षिण अफ्रिका जारी आईसिसी टी–२० विश्वकपको फाइनल प्रवेश गरेको छ । पहिलो सेमिफाइनल खेलमा अफगानिस्तानलाई ९ विकेटले पराजित गर्दै दक्षिण अफ्रिका फाइनल प्रवेश गरेको हो ।
अफगानिस्तानले दिएको जम्मा ५७ रनको लक्ष्य दक्षिण अफ्रिकाले ८.५ ओभरमा पूरा गरेको थियो । टस जितेर पहिला ब्याटिङ गरेको अफगानिस्तानले ११.५ ओभरमा सबै विकेट गुमाएर ५६ रनमात्रै बनाएको थियो ।
५७ रनको सामान्य लक्ष्य पछ्याउँदा दक्षिण अफ्रिकाको सुरुआत भने राम्रो रहेन । जारी विश्वकपमा राम्रै प्रदर्शन गरेका क्विन्टन डी कक फ्लप भए । उनी ५ रन बनाएर आउट भएका थिए ।
त्यसपछि रिजा हेनरिक र कप्तान एडेन मार्करमले पारि सम्हाल्दै दक्षिण अफ्रिकालाई ८.५ ओभरमा जिताए । रिजाले २५ बलमा २९ रनको नटआउट पारि खेल्दा मार्करमले २१ बलमा २३ रनको नटआउट पारि खेले ।फजलहक फारुकीले १ विकेट लिए । दक्षिण अफ्रिकाले अब फाइनलमा भारत र इंग्ल्याण्डबिचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ ।