काठमाडौँ: नेपाल प्रहरी अस्पतालमा कार्यरत दुई प्राविधिक प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) डाक्टरहरु पदावधिका कारण आज (शुक्रबार) बाट अनिवार्य अवकाशमा गएका छन्।
एसएसपीको ६ वर्षे पदावधिअनुसार प्रहरी अस्तापलको स्वास्थ्य उपसमूहतर्फका एसएसपीद्वय डाक्टर दीपक श्रेष्ठ र सुवास आचार्य अनिवार्य अवकाशमा गएका हुन्।
हिजो बिहीबार राति १२ बजेबाट उनीहरु अनिवार्य अवकाशमा गएका हुन्। १२ असार २०७५ मा एसएसपीमा बढुवा उनीहरू अन्यायपूर्ण अवकाशमा गएको देखिएको छ।
प्रहरी महानिरीक्षक वसन्त कुँवर र उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेले बढुवा रोकेपछि उनीहरू अन्यायपूर्ण अवकाशमा जान बाध्य भएका हुन्।अन्यायपूर्ण यस अर्थमा कि अस्पतालमा डीआईजीको दरबन्दी रिक्त भएको डेढ महिनै पुगेको थियो। तर पनि उनीहरूको बढुवा प्रक्रिया अघि बढेन र अवकाशमा जान बाध्य भए। जबकी डीआईजीमा बढुवा भएको भए उनीहरू थप ५ वर्ष प्रहरीमा रहने अवसर पाउँथे।
यसरी अन्यायपूर्ण अवकाशमा जानु परेपछि डा.दीपक श्रेष्ठले आईजीपीलाई ‘नालायक सीइओ’ को आरोप लगाएका छन्। नेपाल प्रहरी ‘प्राइभेट कम्पनी’ मा परिणत भएको उल्लेख गर्दै उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्–‘अहिलेको सीइओ नालायक हो, यसले सबैलाई नालायक नै देख्छ।’
एसएसपी श्रेष्ठ प्रहरी नायब महानिरीक्षक (डीआईजी) बढुवाका मुख्य प्रतिस्पर्धी थिए। श्रेष्ठ नेत्र रोग विशेषज्ञ हुन् भने आचार्य नाक, कान, घाँटी रोग विशेषज्ञ हुन्। श्रेष्ठ प्रहरीमा प्रवेश गरेको २३ वर्षमा नै अवकाशमा गएका हुन्।
उनीहरूलाई घर पठाएर आईजीपी कुँवर र गृहमन्त्री लामिछानेले अस्पतालमा कार्यरत एसएसपी सञ्चिता घिमिरे र दामोदर पौडेललाई बढुवा गर्न खोजेको आरोप छ। डा. मनोज यादव पनि बढुवा प्रतिस्पर्धामा छन्।
उसो त प्रहरीमा बेथिति थुप्रै छन् तर पछिल्लो समय बढुवा प्रक्रिया हेर्दा प्रहरीमा ‘आफ्ना मान्छे’ हुँदा च्याप्ने र अरुलाई लखेट्ने गरेको देखिन्छ। त्यसको उदाहरण हुन्, प्रहरी नायव महारीक्षक पोषराज पोखरेल।
उनै डीआईजी पोखरेल आउँदो २१ असारमै अवकाशमा जाँदैछन्। तर, पनि उनी एआइजीको फूली लगाएरमात्रै घर जाने मार्गमा छन्। त्यसको कारण हो, उनीमाथि शक्तिकेन्द्र, प्रहरीको नेतृत्व लगायतको आशिर्वाद।
उनी घर जाने बेला १ दिनमात्रै भएपनी एआइजी बन्ने लगभग पक्का छ। किनकी उनी पावरमा ‘आफ्ना मान्छे’ भएकै कारण प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) मा बढुवा सिफारिस भैसकेका छन्।
बढुवा समितिले १९ असारमा मात्र अवकाशमा जान लागेका एआईजी उमेशराज जोशीको ठाउँमा डीआईजी पोखरेलको बढुवा सिफारिस गरिसकेको छ।
जोशी र पोखरेल दुवै उमेर हदका कारण दुई दिनको अन्तरमा मात्रै अवकाशमा जाँदैछन्। एआईजी बढुवा सिफारिस समितिमा गृहसचिव संयोजक हुन्छन् भने प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव सदस्य र आईजीपी सदस्य सचिव रहने व्यवस्था छ। प्रहरीतन्त्रमा गृहमन्त्री, प्रधानमन्त्री निकटदेखि महानिरीक्षक (आईजीपी) नजिकका व्यक्तिको आर्कषक पोष्टिङ तथा बढुवा हुने परिपाटी पुरानै भएपनि अहिले पनि निरन्तर भैरहेको छ।
प्रहरी नियमावली अनुसार, बढुवा समितिले सिफारिस गरेको एक सातापछि मात्रै बढुवा हुने व्यवस्था छ। एक साताभित्र बढुवा सिफारिसमा परेका व्यक्तिमाथि कुनै उजुरी नपरे बढुवा ‘कन्फर्म’ हुन्छ। जसकारण जोशी अवकाश हुनुपूर्व नै पोखरेललाई बढुवा सिफारिस गरिएको देखिन्छ।
त्यसो त, प्रहरी महानिरीक्षक आईजीपी बसन्त कुँवरको अमेरिका भ्रमण जाने दिनै उनको सिफारिस गरिएको थियो। अमेरिका भ्रमणबाट फर्केपछि सिफारिस गर्दा कानुनी प्रक्रियाका कारण सम्भव नहुने भएपछि उनको हतार र चलाखीपूर्वक सिफारिस भएको प्रहरीका अधिकारीहरु बताउँछन्।
असार १० गते आईजीपी कुँवर, गृहसचिव एकनारायण अर्याल, सशस्त्र प्रहरी बलका आईजीपी राजु अर्यालसहितको टोली संयुक्त राष्ट्रसंघको प्रधान कार्यालय न्यूयोर्कमा हुन लागेको युनाइटेड नेसन चिफ अफ पुलिस समिटमा भाग लिन गएका थिए। सोही दिन बिहान पोखरेलको बढुवा सिफारिश भएको हो।