काठमाडौँ : जारी टी- २० विश्वकपको फाइनल खेल आज हुदै छ । फाइनलमा उपाधिका लागि भारत र दक्षिण अफ्रिकाबीच भिडन्त हुदै छ । बरबाडोसमा हुने फाइनल नेपाली समय अनुसार राति ८: १५ बजेदेखि शुरु हुने छ ।
सेमिफाइनलमा भारतले इङल्याण्ड र दक्षिण अफ्रिकाले अफगानिस्तानलाई पराजित गर्दै फाइनलमा पुगेका हुन् ।
भारत २०१४ पछि पहिलो पटक टी-२० विश्वकपको फाइनलमा पुगेको छ । भारतले २००७ को टी- २० विश्वकपको पहिलो संस्करण जितेपछि अहिलेसम्म विश्वकप जित्न सकेको छैन । २०१४ मा उपविजेता बनेको भारत पछिल्लो विश्वकपमा सेमिफाइनलबाट बाहिरिएको थियो ।
त्यस्तै दक्षिण अफ्रिका भने पहिलो पटक विश्वकपको फाइनलमा पुगेको हो । दक्षिण अफ्रिका यस अघि २०१४ को विश्वकपमा दक्षिण अफ्रीका सेमिफाइनलमा पुगेको थियो । त्यसअघि २००९ को विश्वकपमा सेमिफाइनलमा पुगेको थियो ।
भारत र दक्षिण अफ्रिकाबीच अहिलेसम्म २६ टी-२० खेल भएका छन् । जसमा भारतले १४ खेल जितेको छ भने दक्षिण अफ्रिकाले ११ खेल जितेको छ । त्यस्तै एक खेलको नतिजा आएको छैन ।