काठमाडौं: हालको सरकार र सत्तारुढ गठबन्धन ढल्ने चर्चाकाबीच नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई प्रमुख प्रतिपक्षी र सरकारको नेतृत्व गरिरहेको दलका अध्यक्ष एवं प्रधानमन्त्रीबाटैसमेत प्रधानमन्त्री पदको अफर आएको छ। नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले ओलीलाई प्रधानमन्त्री अफर गरेको र गोप्य सहमति भएको चर्चा चुलिएपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पनि प्रधानमन्त्री अफर गरेका हुन्।
स्रोतहरूका अनुसार कांग्रेस एमाले अध्यक्ष केपी शर्मा ओलीलाई पहिलो चरणमा प्रधानमन्त्री स्वीकार्न तयार भएको छ। सोही अनुरुप कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष ओलीबीच तीनपटकसम्म भएको बैठकमा संसदको बाँकी साढे तीन वर्षको अवधिमा एमाले र कांग्रेसले आलोपालो सरकारको नेतृत्व गर्ने गरी समझदारी बन्न लागेको हो।
जसमा आधा कार्यकाल ओली र त्यसपछिको आधा देउवा प्रधानमन्त्री बन्ने प्रस्ताव गरिएको छ। हाल संसदमा कांग्रेस पहिलो र एमाले दोस्रो ठूलो दल हो। यी दुवै दल मिल्दा १६६ सांसदको समर्थनसहित बलियो सरकार गठन हुन्छ। यो भनेको दुईतिहाइ बहुमतका लागि आवश्यक संख्या (१७४) भन्दा थोरै कम हुन्छ। कांग्रेस-एमाले सरकारमा अन्य साना दलहरूलाई पनि मिसिएमा सहजै दुईतिहाइ पुग्न सक्छ। दुईतिहाइको सरकार बनेमा आवश्यक पर्दा संविधान संशोधन गर्न सक्नेसम्मको शक्तिशाली हुनेछ।
त्यस्तै प्रधानमन्त्री ‘प्रचण्ड’ले पनि ओलीलाई वर्तमान सत्ता गठबन्धनबाटै प्रधानमन्त्री बन्न प्रस्ताव गरेका छन्। सोमबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको भेटमा प्रधानमन्त्री प्रचण्डले वर्तमान गठबन्धनबाटै प्रधानमन्त्री बन्न प्रस्ताव गरेको बताइएको छ।
तर, भेटमा ओलीले भने अध्यक्ष ओलीले शान्ति प्रक्रियासहित सबै समस्या समाधानका लागि आफ्नो नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार बनाउन प्रस्ताव गरेको बुझिएको छ। तर सरकार ढल्छ या ढल्दैन यो भने हेर्न बाकी छ।