काठमाडौं : नेपालको नयाँ समीकरणबारे छलफल जारी छ। आज (सोमबार) मध्यराति नेकपा एमाले-नेकपा माओवादी केन्द्रसहितको सत्ता समीकरण फुटेर नेपाली काँग्रेस र एमालेसहितको समीकरण बन्न लागेको हो।
उच्च स्रोतका अनुसार अहिले नेकपा एमालेका नेताहरूसँग छलफल टुङ्ग्याएर नेपाली कांग्रेसका नेताहरू सभापति शेरबहादुर देउवा निवास पुगेका छन्।
कांग्रेस र एमाले संविधान संशोधनलाई प्रमुख एजेन्डा बनाएर गठबन्धन गर्ने अन्तिम तयारीमा रहेको बताइन्छ। दुई दलबीच प्रदेशको समानुपातिक व्यवस्था खारेज गर्ने, संघमा पनि राष्ट्रियसभामा समानुपातिक व्यवस्था गर्ने प्रदेश प्रमुखलाई केन्द्रबाट तोक्ने, प्रदेशको संख्यामा पनि पुनरवलोकन गर्ने, राष्ट्रियसभा अध्यक्षको जिम्मेवारी उपराष्ट्रपतिलाई दिनेसहितका विषयमा सहमति खोज्ने प्रयास भइरहेको छ।
स्रोतका अनुसार कार्यदलस्तरमा काम टुंगिसकेको छ। आजै कांग्रेस सभापति शेरबहादुर देउवा र एमालेका अध्यक्ष केपी शर्मा ओलीले समझदारीमा हस्ताक्षर गर्ने तयारी गरिएको स्रोतको दाबी छ।