काठमाडौं: नेपालमा सत्ता समीकरण फेरबदलबारे दुई ठूला दलबीच रस्साकस्सी भइरहेका बेला नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा बिरामी परेका छन्। स्रोतका अनुसार अस्वस्थ देउवा निवासमा आराम गरिरहेका छन्।
उता नयाँ समीकरणमा जोडिएको नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली भने शीतल निवास पुगेका छन्। माओवादीलाई छोडेर काँग्रेससँग मिल्दै आफू प्रधानमन्त्री बन्ने लाइनमा गएका ओली मध्यरातमा राष्ट्रपति रामचन्द्र पौडेलसँग परामर्शका लागि त्यहीँ पुगेका हुन्।
एमाले अध्यक्ष ओलीलाई प्रधानमन्त्री बनाउने कुरामा दुई दलले करिब सहमति जुटाइसकेका छन्। त्यसका लागि उनले राष्टपतिसँग आवश्यक परामर्श गर्दैछन्। त्यसपछि मंगलबार नै नयाँ सरकारका लागि ठोस निर्णय लिइने बताइएको छ। नयाँ सरकार गठनका लागि दलका नेताहरूबीच बिहानसम्म हस्ताक्षर हुने दाबी छ।
काङ्ग्रेस सभापति देउवा बिरामी भएका कारण उनले नेता ज्ञानेन्द्रबहादुर कार्की र रमेश लेखकसहितलाई खटाएका छन् भने एमालेमा ओली आफैं खटिएका छन्।