काठमाडौं: नेपाल प्रहरीमा शुक्रबारदेखि एक जना प्रहरी अतिरिक्त महानिरक्षिक (एआईजी) र एक जना डीआईजीको पद रिक्त हुँदै छ। एआईजी उमेशराज जोशी र एआईजीमा सिफारिस डीआईजी पोषराज पोखरेल अनिवार्य अवकास हुँदा दुई पद खाली हुन लागेका हुन्।
उमेशराज जोशी बुधबारदेखि अनिवार्य अवकासमा गैसकेका छन्। पोखरेल एआईजीमा बढुवा भए पनि शुक्रबारदेखि नै अनिवार्य अवकासमा जानेछन्। त्यसपछि हाल कार्यरत डीआईजीमध्येबाट एक एआईजीमा बढुवा गरिनेछ।
जसमा भतरबहादुर बोहरा, दुर्गा सिंह, रवीन्द्र केसी, रामदत्त जोशी, बुद्धिराज गुरुङ, किरण राणा, कुवेर कडायत, केदार ढकाल, विष्णुकुमार केसी, चन्द्रकुबेर खापुङ, जनक भट्टराई, लालमणि आचार्य लगायतका डीआईजी प्रतिस्पर्धामा छन्।
सरकारले सुरुमा रिक्त एआईजीमा यी डीआईजीहरूमध्येबाट बढुवा गरेपछि एसएसपीबाट डीआईजीमा बढुवा सिफारिस गर्नेछ।
जसमा हाल कार्यरत एसएसपीमा ध्रुवराज राउत, भोलाबहादुर रावल, दिल्लीराज बिष्ट र गणेश चन्द सबैभन्दा सिनियर हुन्। त्यसमा पनि बढुवामा सुरुबाटै पछि पारिएका एसएसपी गणेश चन्द मुख्य प्रतिस्पर्धी हुन्।
उनका ब्याचीहरू सबै अहिले पनि डीआईजीदेखि आईजीपीसम्म छन्। चन्द २०६४ पुस ३० गते डीएसपीमा बढुवा भएका थिए। एसपी बढुवा हुँदा पनि उनी ब्याचीबाट छुटे। २०७४ साउन १९ गते एसपी बनेका चन्द एसएसपी भने २०७९ साउन ३ मा मात्रै बने। उनी आगामी मंसिर २५ गते अनिवार्य अवकासमा जानेछन्।
यसबाहेक ठूलो संख्यामा भदौ १६ गते प्रहरी अधिकृतहरू अवकासमा जादैछन्।