धनगढी : सत्ता समीकरणमा उथलपुथल भएर क्याबिनेट नै बस्न नसक्दा नेपाल प्रहरीका डिआईजी पोषराज पोखरेल सिफारिस भएर पनि बढुवा नपाई घर फर्किएका छन्। डिआईजीबाटै अवकाशमा गएका पोखरेलको बढुवा सिफारिस भएको थियो तर समयमै निर्णय हुन नसकेपछि उनी अवकाशमा जान बाध्य भएका हुन्।
गत १० असारमा पोखरेललाई एआईजीमा बढुवा सिफारिस गरिएको थियो। १९ गते एआईजी उमेशराज जोशीले अवकाश पाएपछि रिक्त हुने पदमा पोखरेलको सिफारिस भएको थियो। उमेरहदका कारण पोखरेलले २१ असारमा अवकाश पाउनु पर्ने थियो।
तर, एमालेले समर्थन फिर्ता लिने निर्णयसँगै सत्ता समीकरणमा उथलपुथल आएपछि मन्त्रिपरिषद्को बैठक नबसेर जोशीले बढुवा नपाई घर जानु परेको हो ।
केपी ओलीको नेतृत्वमा बन्ने नयाँ सरकारमा नेपाली कांग्रेसले गृहमन्त्री पाउने चर्चा चलिरहेका बेला सरकार ढल्दै गर्दा गरिएको बढुवा सिफारिस कार्यान्वयन हुने–नहुने विषय अन्योलमा परेको छ।
नेपाल प्रहरीमा हाल एक एआईजी र दुई डिआईजीको दरबन्दी रिक्त रहेको छ। पोखरेलको बढुवा सिफारिस कार्यान्वयन नहुँदा नेपाल प्रहरीको नेतृत्वमा रिक्तता सिर्जना भएको छ।