काठमाडौं :लुम्बिनी प्रदेशमा नेकपा एमालेका मन्त्रीहरूका लागि मुख्यमन्त्री जोखबहादुर महराले बिदाइ भोजको आयोजना गरेका छन ।
संघीय सरकारमा सत्ता समीकरण परिवर्तन हुन लागेसँगै लुम्बिनीमा पनि सरकार छाड्न लागेका एमालेका मन्त्रीहरूका लागि मुख्यमन्त्रीले आफ्नै निवासमा बिदाइ भोज आयोजना गरेका हुन ।
आफ्नो मन्त्रिमण्डलमा सहभागी भएकालाई निस्कँदा पनि राम्रै सम्मानका साथ बिदा गर्नुपर्छ भन्ने राजनीतिक संस्कारको शुरुवात गरिएको मुख्यमन्त्री महराले बताए ।
बिदाइ भोजमा एमाले संसदीय दलका उपनेता तथा आर्थिक मामिला तथा योजनामन्त्री चेतनारायण आचार्य, आन्तरिक मामिला तथा कानुनमन्त्री दिनेश पन्थी, शहरी विकास तथा खानेपानीमन्त्री भूमीश्वर ढकाल, वन तथा वातावरणमन्त्री अर्जुनकुमार केसी र सामाजिक विकासमन्त्री रत्नबहादुर खत्री सहभागी भएका छन ।
पछिल्लो समय केन्द्रमा एमाले र नेपाली कांग्रेसका बीच नयाँ राजनीतिक समीकरण बनेसँगै यसको असर सात वटै प्रदेशमा देखिएको छ ।
लुम्बिनीमा पनि एमाले र कांग्रेसको गठबन्धनमा सरकार बनाउने तयारी भइरहेको छ।
यसो त एमालेले मुख्यमन्त्री महरालाई राजीनामा बुझाउन अनुरोधसमेत गरिसकेको छ। मुख्यमन्त्री महराले भने आर्थिक भुक्तानी लगायतका काम सकाउनुपर्ने भन्दै असार २४ गतेसम्म को समय माग गरेका छन्।