काठमाडौं: हालै नेपालको जासुसी संस्था मानिने राष्ट्रिय अनुसन्धान विभागका चिफ हुतराज थापा बालकोट पसेको घटनाले चर्चा पाएको छ। सत्ता समीकरणमा उलटफेर आएसँगै हुनेवाला प्रधानमन्त्री भनिएका केपी शर्मा ओलीलाई थापा निवासमै भेट्न गएका थिए।
निवासमा भेट्न गएका बेला बालकोटले उनलाई प्रतिकुल जवाफ दिएपछि सो घटनाको चर्चा थालिएको हो। उसै त विभागभित्र रोल्पा घर भएका थापामाथि माओवादीको निर्देशनमा विभाग सञ्चालन गरेको आरोप लाग्दै आएको छ।
त्यसमाथि बालकोटले त्यसमा थप पुष्टि खाले जवाफ दिएको बताइन्छ। स्रोतका अनुसार ओलीले थापाका कामप्रति असन्तुष्टि जनाएका थिए। भेटमा ओलीले विभागका कर्मचारीबीच भेदभाव गरेको भन्दै हाकिमको परफरमेन्स नदेखिएको ओलीको भनाई थियो।
यसै परिपेक्षमा सरकार परिवर्तन भएर ओली प्रधानमन्त्री भए थापा समस्यामा पर्ने देखिन्छन्।
उसो त थापामाथि अनेकौं आरोप छन्, हालैमात्र उनले गुप्तचर अर्थात राष्ट्रिय अनुसन्धान विभागकी हवल्दार पवित्रा केसीलाई काठमाडौं बसाएरै तलब खुवाइरहेको विषय सतहमा आएको छ।
पवित्राको दरबन्दी रोल्पामा छ। तर उनले डेढ वर्षदेखि राजधानीमा बसेर तलब भत्ता बुझेको देखिन्छ। थापाको आशिर्वादमा उनले काठमाडौं बसेर आरामले तलब पकाइरहेको आरोप छ। उक्त कार्यमा विभागको रोल्पा कार्यालयका हाकिम कुशल थापा मगरले पनि सघाएको बताइएको छ।
त्यस्तै हाकिमसँग घनिष्ट रहेकी अर्की प्रशासन विभागमा कार्यरत महिला हवल्दार पनि खुसुक्क अष्ट्रेलिया पुगेको कुरो बाहिरिएको छ। यी प्रतिनिधि उदाहरण भएपनि विभागमा यस्ता थुप्रै बेथिति रहेको सरोकारवालाको भनाई छ।