धनगढी : धनगढीको हार्डवयर व्यवसायमा एकछत्र रजगज चलाएका भारतीय व्यापारी आशिष गुप्तालाई ३२ लाख जरिवाना गरिएको छ ।
धनगढीमा हरिओम हार्डवयर एण्ड सप्लायर्सका सञ्चालक रहेका गुप्ताले ३२ लाख तीन हजार बराबरको कर छली गरेको भेटिएपछि आन्तरिक राजश्व कार्यालय धनगढीले जरिवाना तिराएको हो ।
गुप्ताले दुलारीदेवी भन्ने महिलाको नाममा फार्म दर्ता गरि सञ्चालन गरेको आरडेन इन्टरप्राइजेजले मूल्य अभिबृद्धि कर छली गरेको पाइएपछि ३२ लाख रुपैयाँ प्रारम्भिक कर निर्धारण गरिएको थियो । राजश्व कार्यालयले निर्धारण गरेको कर तिरेको आधार प्रमाण देखाउन नसकेपछि गुप्तालाई जरिवाना तिराइएको हो ।
जिल्ला प्रहरी कार्यालय कैलालीले बुधबार साँझ सञ्चार माध्यममा इमेल पठाउँदै आरडेन इन्टरप्राइजेजलाई ३२ लाख तीन हजार र रिल्याक्सो डम्सेवयर सप्लायर्सलाई तार लाख ३९ हजार गरेर ३६ लाख ४२ हजार जरिवाना तिराएको जनाएको छ ।
जिल्ला प्रशासन कार्यालयको समन्वयमा आन्तरिक राजश्व कार्यालय धनगढी र जिल्ला प्रहरी कार्यालयको टोलीले गुप्ताको आरडेन इन्टरप्राइजेजको गोदाममा १७ बैशाखमा छापा हानेको थियो भने अर्को फार्ममा १४ जेठमा खानतलासी गरेको थियो ।