काठमाडौं: सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री दीर्घबहादुर सोडारीकी पत्नी गीता सोडारी भ्रष्टाचार मुद्दामा दोषी ठहर भएकी छिन्। आज विशेष अदालतको फैसलाले उनलाई दोषी ठहर गरेको हो।
उनले नक्कली शैक्षिक प्रमाण पत्र पेश गरेर शिक्षकको जागिर खाएको दाबीसहित अख्तियारमा उजुरी परेको थियो। सो उजुरीपछि अख्तियारले अदालतमा मुद्दा दायर गरेको थियो।
अख्तियारले उनीविरुद्ध भ्रष्टाचार निवारण ऐन २०५९ को दफा १६ को उपदफा १ बमोजिम कैद सजाय र जरिवाना मागदाबी गर्दै मुद्दा दायर गरेको थियो।
स्रोतका अनुसार विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर, रामबहादुर थापा र रितेन्द्र थापाको इजलासले उनलाई दोषी ठहर गरेको हो।
नक्कली शैक्षिक प्रमाणपत्रका आधारमा शिक्षकको जागिर खाएको भन्ने अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दायर गरेको मुद्दामा बिशेष अदालतले उनलाई बिहीबार दोषी ठहर गरेको हो।
गीता धनगढी-९ स्थित शिव माविमा शिक्षिका थिइन्। उनले बोर्ड अफ सेकेण्डरी एजुकेशन, दिल्लीबाट १० कक्षा पास गरेको प्रमाणपत्र पेश गरेको बताइएको छ।
उनीविरुद्ध २०७९ असोज पहिलो साता मुद्दा दायर भएको थियो। उनका पति सोडारी नेकपा एसका नेता हुन्।
नक्कली प्रमाण पत्रका दोषीले कम्तीमा ६ महिनादेखि १ वर्षसम्म जेल बस्नुपर्ने प्रावधान छ।