काठमाडौं: विवादै विवादबीच नेपाली सेनाको भावी कमाण्डर अशोक सिग्देल नै बन्ने चर्चा थालिएको छ। उनलाई सेनापतिमा सिफारिस गर्न लागेको बुझिएको हो।
उनी नागरिकता तथा शैक्षिक प्रमाणपत्रको फरक जन्ममिति प्रकरणमा मुछिएर छानबिनमा परेपनी सेनापती भैछाड्ने देखिएको स्रोतको दाबी छ।
स्रोतका अनुसार छानबिनका क्रममा उनको नयाँ डकुमेन्ट र प्रमाण नदेखिएको कारण देखाएर जर्नेल सिग्देलको नाम सेनापतीमा सिफारिस गरी पठाउने तयारी भएको छ।
उनै सिग्देल एकसमय निकै मदिराप्रेमी भनी चर्चित थिए, तर अहिले सिग्देलले कडा रक्सी पिउन छाडेको बताइएको छ।
२०८१ को भदौ २४ मा हालका प्रधानसेनापति प्रभुराम शर्माले तीनवर्षे कार्यकाल पूरा गरेपछि सिग्देललाई करिब ९६ हजार जनाको संगठन नेपाली सेनाको नेतृत्व गर्ने बाटो खुल्नेछ।
के हो सिग्देलको विवाद ?
गृहमन्त्रालयदेखि राष्ट्रपति कार्यालयसम्म सिग्देलको नागरिकता तथा शैक्षिक प्रमाणपत्रमा जन्ममिति हेरफेर गरिएको प्रमाणसहित उजुरी परेपछि छानविन भइरहेको छ। सिग्देलको वास्तविक जन्ममिति २०२१–१२– १९ भएकोमा कीर्ते गरेर २०२३–१०–१९ बनाइएको भन्ने कागजपत्रहरु सार्वजनिक भएका छन्।
रुपन्देहीको सिद्धार्थनगर–६ स्थायी घर भएका सिग्देलले सुरुमा रुपन्देहीबाटै नागरिकता लिएकोमा पछि जाजरकोटमा बसाई सरेको कागजपत्र बनाएर नागरिकताको प्रतिलिपि लिएका थिए।
त्यसरी प्रतिलिपि बनाउँदा उमेर घटाइएको थियो। जन्म मिति कीर्ते गर्नकै लागि उनले २०५८ सालमा जाजरकोटबाट नागरिकताको प्रतिलिपि लिएको स्रोत बताउँछ।
सिग्देलले अध्ययन गरेको सुपिङ क्याम्पसको अभिलेख र त्रिभुवन विश्वविद्यालयको अभिलेख दर्ता नम्बर ७०४–८४ मा जन्ममिति २०२१ साल नै उल्लेख छ। पछि अभिलेखमै जन्ममिति सच्याएको देखिन्छ।
सिग्देलले २०३९ सालको ८ फागुनमा प्रवेशिका परीक्षा दिएका थिए। त्यसमा पनि जन्ममिति २०२१ नै रहेको छ।
नेपाली सेनामा व्यक्तिको उमेर गणना गर्दा वैयक्तिक विवरण, नागरिकताको प्रमाणपत्र र शैक्षिक योग्यताको प्रमाणपत्रहरूमा फरक फरक जन्ममिति भएमा जून मितिबाट पहिला अवकाश हुन्छ त्यही मितिका आधारमा अवकाश दिने प्रावधान छ। जसअनुसार उनले यसअघि नै अवकाश पाइसक्ने अवस्था छ।
उनको नागरिकता नम्बर समेत फरक फरक छन् भने दुई वटै नागरिकता प्रयोग गरिरहेका छन्। प्रथम प्रतिलिपिको नम्बर ११३१ रहेको छ।अर्काेतर्फ विभिन्न कागजपत्रमा उनको जन्ममिति चार थरी भेटिएको छ । २०४० सालमा उनले उमेर १७ वर्ष भनेर नागरिकता लिएका थिए। त्यतीबेला जन्ममिति नराखी उमेर राख्ने चलन थियो।
यस्तो अवस्थामा नागरिकता लिएको मितिकै आधारमा जन्ममिति तय हुन्छ। जसअनुसार उनको २०२३ साल असोज ९ गते जन्ममिति हुन्छ।
त्यसको १८ वर्षपछि उनले जिल्ला प्रशासन कार्यालय जाजरकोटबाट नागरिकताको प्रतिलिपि निकालेका थिए। पहिलो नागरिकता हराएको भन्दै उनले सो प्रतिलिपि निकालेका हुन्। जसमा पहिलो पटक नागरिकता लिएको मिति नै कीर्ते गरिएको छ।
२०४०/०४/२९ मा पहिलोपटक नागरिकता लिइएको भनिएको छ तर जन्ममिति भने २०२३/१०/१९ उल्लेख गरिएको छ। रुपन्देहीको मान्छे जाजरकोटमा बसाई सरेर नागरिकता बनाउनु र जन्ममिति पनि हेरफेर हुनुले नियोजित भएको भन्दै हाल विभिन्न निकायले छानविन गरिरहेका छन्।
उनका शैक्षिक प्रमाणपत्रहरूमा पनि जन्ममिति गडबड देखिन्छन्।
यस्तै काण्डमा यसअघि केही हाकिमहरु राजीनामा दिन बाध्य भएका थिए।