काठमाडौं: नारायणगढ–मुग्लिन सडक खण्डमा आएको लेदोसहितको पहिरोले दुइटा यात्रु बस बगाएको छ। सिमलतालमा गएको पहिरोले आज बिहान साढे ३ बजेतिर दुईवटा यात्रुवाहक बस बगाएर त्रिशुली नदीमा पुर्याएको छ।
चितवन जिल्ला प्रहरी कार्यालयका अनुसार वीरगञ्जबाट काठमाडौँ गइरहेको एन्जल बसमा २४ जना र काठमाडौंबाट गौर आइरहेको गणपति डिलक्समा ४१ जना यात्रु सवार थिए।
नजिकैको सत्र किलोमा गएको पहिरोमा अर्को बसमा ढुंगा लाग्दा चालकको निधन भएको छ। नवलपरासीको सुनवल– ४ का चालक मेघनाथ विकको उपचारको क्रममा ज्यान गएको हो।
अहिले नारायणगढ–मुग्लिन सडकखण्डको सिमतालमा पहिरोले बगाएका बसका यात्रुको त्रिशूली नदीमा खोजी सुरु भएको छ।
सशस्त्र प्रहरी बल, सेना र प्रहरीको गोताखोरसहितको टोलीले खोजी तथा उद्धार सुरु गरेको हो। पर्साको वीरगञ्जबाट काठमाडौं आउँदै गरेको माइक्रो बस (विङर गाडी) र काठमाडौंबाट रौतहटको गौर जाँदै गरेको गणपति डिलक्सको बस बगेर त्रिशूली नदीमा बेपत्ता भएका हुन्।
उता पोखरामा पहिरोमा परी एकै घरका छोरी÷ज्वाइँसहित ९ जनाको मृत्यु भएको छ। पहिरो जाँदा कास्कीमा एकै परिवारका ७ जनासहित ९ जनाको मृत्यु भएको छ। जिल्लाको पोखरा–महानगरपालिका वडा नम्बर १२ पुरनचौरमा बिहीबार राति सवा १० बजेतिर खसेको पहिरोमा पुरिएर एकै परिवारका ७ जनाको मृत्यु भएको हो।
मृत्यु हुनेमा ४७ वर्षीय कुलबहादुर परियार, उनको पत्नी ४३ वर्षीया मनकुमारी, ८५ वर्षीया आमा लक्षिमा, छोरी १५ वर्षीय प्रशना, २० वर्षीया प्रभा, ज्वाइँ २५ वर्षीय अस्मित परियार र तल्लाकोट बस्न राधिका परियार रहेका छन्।
कास्की प्रहरीका अनुसार छोरीज्वाइँसहित सबै परिवार नै घरमा जम्मा भएर बसिरहेका बेला खसेको पहिरोले पुरेको र राधिकाको चाहिँ उद्धार गर्न खटिएकै क्रममा मृत्यु भएको थियो।
यसैगरी पोखरा–३२ मा चैनपुरमा आरती ओझाको घर पहिरोले पुरिँदा १८ वर्षीया अनिता ओझा र ९ वर्षीय प्रतिक सुवेदीको मृत्यु भएको प्रहरीले जनाएको छ। ११ वर्षीया अनुस्का ओझा बेपत्ता छिन्।
यस्तै मादी गाउँपालिका वडा नम्बर ११ मा पहिरोमा पुरिएर ८० वर्षीया माइतीकुमारी गुरुङ पनि बेपत्ता छिन्। ओमबहादुर गुरुङलाई सकुसल उद्धार गरिएको प्रहरीले जनाएको छ।
मृत्यु भएका सबैको शव पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पोस्टमार्टमका लागि राखिएको छ। बेपत्ता दुर्य युवतीको भने खोजी कार्य जारी छ।