काठमाडौं: नेपाल प्रहरीका डीएसपी शिवबहादुर सिंहविरुद्ध उजुरी परेको छ। केन्द्रिय विशेष कार्यदल नक्सालमा कार्यरत सिंहविरुद्ध प्रहरी निरीक्षक बन्दै गर्दा स्नातक तह उर्तिण नभएको भन्दै छानविनको लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको हो।
स्नातक तह उर्तिण भएको प्रमाणपत्र पेश नगरिकनै प्रहरी निरीक्षक पदमा दरखास्त दिने कुरा अख्तियारको चरम दुरुपयोग हुने भएकाले प्रमाणपत्र पेशै नगरि प्रतिस्पर्धा गरि सिंहले प्राप्त गरेको जागिर यताका सबै सेवा सुविधा असुल उपुर गरि कारवाही गर्न उजुरीमा माग गरिएको छ।
यसअघि उनी दार्चुला जिल्लाको इन्चार्जको रुपमा कार्यरत थिए। २०६१ जेष्ठ १५ गते प्रहरी निरीक्षक पदमा नियुक्ति लिएका सिंहले २०५८ साल मंसिर १२ गते खुल्ला गरिएको विज्ञापनमा फारम भरेका थिए।
प्रहरीद्धारा जारी गरिएको सो विज्ञापनले कुनैपनि नेपाली नागरिक प्रहरी निरीक्षक पदको परिक्षामा सहभागी हुन विज्ञापन गरिएको अन्तिम मितिभित्र स्नातक तह उर्तिण गरेको हुनुपर्ने अनिवार्य व्यवस्था गरिएको थियो।
तर उजुरीको विवरणअनुसार सिंहले २०५८ चैत्र ५ गते मात्रै स्नातक तह उर्तिण गरेको भेटिएको छ।
अहिले उनीविरुद्ध छानबिन जारी रहेको आयोगका प्रवक्ता नरहरि घिमिरेले जनाए।