दार्चुला – निर्वाचनको मिति नजिकिएसँगै उम्मेदवारहरुले चुनावी प्रचारप्रसार अभियानलाई तिव्रता दिएका छन् ।
ठूला आमसभा सकेर उम्मेदवार घरदैलो भेटघाटमा व्यस्त छन् । तर अपिहिमालका मतदाता भने उम्मेदवारसँग भेटघाट भन्दा पनि यार्सागुम्बा संकलन गर्न पाटन पुगेका छन् ।
अपिहिमालका धेरैजसो मतदाता यार्सागुम्बा संकलन गर्न पाटन पुगेपछि उम्मेदवारलाई मत माग्नै धौधौं भएको छ, अखिलका नेता कृष्णसिह धामीले भन्नुभयो, तै पनि उम्मेदवारसँगै घरमा भएका मतदाता भेटेर भोट माग्दैछौ । एकातिर कामको चटारो अर्कोतिर निर्वाचनको मिति नजिकिएसँगै उम्मेदवारको भेटघाट तिव्र भएको हो । ६ वटा वडा रहेको अपिहिमालमा यो पटक उम्मेदवारीमा जातीय नारा पनि लगाइन थालेको मतदाताले गुनासो गरेका छन् ।
गठबन्धनले अध्यक्ष र उपाध्यक्षका उम्मेदवारी दिदा ठेकरे बोहरालाई मात्रै दिएर जातीय एकता गर्न खोजेको आरोप मतदाताको छ । नेकपा एमाले भने गाउँपालिकामा हुने जातीय गठबन्धन भत्काएर आफ्नो पक्षमा मत तान्ने अभियानमा रहेको पाइएको छ ।