कञ्चनपुर : कञ्चनपुरको दोधारा चादँनीमा प्रस्तावित सुक्खा बन्दरगाहका लागि जग्गा प्राप्तिमा ढिलाई भइरहेको छ ।
लामो सयमदेखि वन विभागमा जग्गा प्राप्तिको फाइल अड्किदा जग्गा प्राप्तीमा ढिलाई भएको हो । जग्गा प्राप्तीमा ढिलाई हुँदा हाल आयोजनाको काम पनि अघि बढ्न सकेको छैन ।
दोधारा चादँनी नगरपालिकाको मायापुरी र गौरीशङ्कर मध्यवर्ती वन क्षेत्रमा सुक्खा बन्दरगाह निर्माणका लागि प्रस्ताव भई विस्तृत परियोजना प्रतिवेदनसमेत तयार भइसकेको छ । जसमा जग्गा प्राप्तिका लागि मन्त्रिपरिषद् बाट निर्णय गराउनुपर्ने हुन्छ ।
शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज कार्यालयले सुक्खा बन्दरगाह निर्माणका लागि जग्गा उपलब्ध गराउने विषयमा फाइल अघि बढाए पनि केन्द्रबाट उक्त विषयले किनारा पाउन ढिलाइ भइरहेको जनाइएको छ ।
दोधारा चाँदनी नगरपालिकाको गौरीशङ्कर र मायापुरी सामुदायिक वन क्षेत्रको ६३ बिघा क्षेत्रफल प्राप्तिका लागि प्रक्रिया अघि बढाइएको छ । जसमा २ हजार रुख पनि काट्नुपर्ने देखिएको छ ।
करिब ६ अर्ब लागतमा चाँदनी दोधारामा एकीकृत भन्सार जाँच चौकी (आइसिपी) निर्माण हुनेछ । सोही सुक्खा बन्दरगाहको करिब एक किलोमिटर वर महाकाली नदीमा चार लेनको पक्की पुल र ६ लेनको पहुँच मार्गसमेत निर्माण भइसकेको छ ।