धनगढी : सुदूरपश्चिम प्रदेश स्वास्थ्य महिला तथा बालबालिका मन्त्री ओमविक्रम भाट सरलले निरोगी हुनका लागि खोप अपरिहार्य रहेको बताएका छन् । आइतबार धनगढीमा जिल्ला खोप समन्वय समिति र स्वास्थ्य कार्यालय कैलाली आयोजनामा गरिएको खोप सुनिश्चितता जिल्ला घोषणा कार्यक्रममा मन्त्री भाटले सो कुरा बताएका हुन् ।
कार्यक्रमा प्रमुख अतिथि रहेका मन्त्री भाटले खोपलाई सबैले प्राथमिकता राख्नुपर्ने सुझाए। आफ्नो प्रयास प्रदेशको स्वास्थ्यमा सुधार गर्नमा रहेको उनले बताए।
प्रदेशको स्वास्थ्य सुधार गर्नका लागि आगामि आर्थिक बर्षको बजेटमा स्वास्थ्यलाई प्राथमिकता दिएको उनको भनाइ रहेको थियो। स्वस्थ रहनको लागि मानिसले एक घण्टा भए पनि समय दिनुपर्ने उनले सुझाए।
उनले समय–समयमा परिवर्तन हुने नेतृत्वले गर्दा पनि समस्या भइरहेको बताए। ‘समय–समयमा नेतृत्वसँगै नीति फेरिन्छन्’, उनले भने, ‘त्यसले गर्दा काम गर्न समस्या भइरहेको छ। यसमा सुधार गर्न आवश्यक छ।’
सो कार्यक्रममा कैलालीलाई पूर्ण खोप जिल्ला सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको छ। जिल्लाका १३ वटै स्थानीय तहका ३६ हजार ९ सय १६ बालबालिकालाई खोप लगाएको स्वास्थ्य कार्यालय कैलालीले जनाएको छ। जिल्लामा १६ देखि ५९ महिना सम्मका ३७ हजार ४ सय ६२ बालबालिकाहरुमा शून्य डोजको संख्या ११ र छुटका ४ सय ४८ जना बालबालिकाहरु रहेको खोप समन्वय समितिले जनाएको छ।
कार्यक्रमममा घोडाघोडी नगरपालिका मेयर खडकबहादुर रावतले खोप सुनिश्चिताका लागि सबैको मेहनत सराहनीय रहेको बताए। उनले बसइसराईका कारण कतिपय बालबालिकाहरु छुट्ने गरेको हुँदा यो चुनौतीको विषय रहेको उनले औंल्याए। कार्यक्रममा जानकी गाउँपालिका अध्यक्ष गणेश चौधरी, स्वास्थ्य निर्देशनालयका प्रमुख खगेन्द्र वम, स्वास्थ्य स्वंयसेविका अम्बिका भण्डारीलगायतले आफ्नो धारणा राखेका हुन्।
कार्यक्रममा स्वास्थ्य कार्यालय कैलालीका प्रमुख आशुतोष श्रेष्ठले पूर्ण खोप जिल्ला सुनिश्चितता तथा दिगोपना घोषणा कार्यक्रममा प्रतिवेदन प्रस्तुत गरेका थिए। जिल्ला समन्वय समितिका संयोजक खगराज भुषालको अध्यक्षतामा भएको कार्यक्रममा १३ वटै स्थानीय तहका प्रमुख एवं प्रतिनिधिहरुको सहभागिता रहेको थियो।