धनगढी: कञ्चनपुरको गड्डाचौकीस्थित भन्सार कार्यालयमा एसबिआई बैंकको काउन्टर खुलेको छ। बैंकले भन्सार कार्यालयमा एक्सटेन्सन काउन्टर स्थापना गरेको हो।
बैंकका प्रबन्ध निर्देशक एंव प्रमुख कार्यकारी अधिकृत दीपककुमार दे र भन्सार कार्यालय प्रमुख राजनबाबु काफ्लेले हिजो संयुक्त रुपमा काउन्टर उद्घाटन गरे। सो अवसरमा बैंकका नायव प्रमुख कार्यकारी अधिकृत तथा प्रमुख वित्तिय अधिकृत राजेशकूमार पाण्डे, प्रमुख सञ्चालन अधिकृत यादवेन्द्र कांत, प्रमुख व्यवसाय प्रवर्द्धन अधिकृत रितेश अर्यालसहित बैंक र भन्सार कार्यालयका अन्य पदाधिकारीहरु सहभागी भएका थिए।
एक्सटेन्सन काउन्टरले व्यवसायी तथा अन्य सेवाग्राहीलाई उनीहरूको वित्तीय तथा भन्सारसम्बन्धी बैंकिङ सेवाको सुव्यवस्थित गर्ने लक्ष्य राखेको बैंकले जनाएको छ। भीमदत्त नगरपालिका–०५, महेन्द्रनगरस्थित कञ्चनपुर क्याम्पस रोडमा अवस्थित शाखा सोही नगरपालिकाको वडा नं.०४, मा स्थानान्तरण गरी नयाँ परिसरबाट सेवा शुभारम्भ गरेकोसमेत जानकारी गराइएको छ।
एसबिआई बैंकले देशभर आफ्ना एक सय वटा शाखा, २२ वटा एक्सटेन्सन काउण्टर, एक सय २१ एटीएम र एक कर्पोरेट कार्यालयबाट बैकिङ्ग सेवासुविधा प्रदान गर्दै आएको छ।