धनगढी: नेपाल र भारतको सीमा क्षेत्रमा पर्ने अतिक्रमित भूमिमा भारतीय पूर्व सेनाका फौज तथा परिवारको टोली गएको छ। यहीँ महिनाको ६ गतेका दिन बहालवाला भारतीय सेनासहित पूर्व सेनाका परिवारहरुको टोली नेपालको अतिक्रति भूमिमा गएको हो।
सुरक्षा स्रोतका अनुसार ६ गते ४ बजे दार्चुलाको व्याँस गाउँपालिका १ स्थित माथिल्लो कौवासङ्ग सिमाना जोडिएको भारतद्वारा अतिक्रमित भूमिमा सो टोली गएको हो। उनीहरू प्रस्थान गरेको भूमि हाल भारतको उत्तराखण्ड राज्य पिथौरागढ जिल्ला तहसिल धार्चुला ग्राम सभा गुन्जीमा पर्दछ।
अहिले सो नेपाली अतिक्रमित भूमिमा आदिकैलाश, ओम पर्वत, कैलाश मानसरोवर समेत पर्दछन्। सो सेनाको टोली त्यहीँ दर्शन गर्न गएको बताइएको छ।
जसका लागि पिथौरागढमा भारतीय भूतपूर्व सैनिक संघका प्रमुख महेश भट्ट, पिथौरागढ ब्रिगेडियर एसपीएस चौहान बिच छलफल पनि भएको थियो।
त्यहाँ अहिलेसम्म कुल ४ समूह पठाएको जसमा कुल २४ जना पूर्व सैनिक र निजका परिवार रहेको जनाइएको छ।
७ गतेका दिन पनि अर्को टोली धार्चुलाबाट प्रस्थान भएको छ। जसमा कुल ६ जना पूर्व सैनिक र निजका परिवार गरि जम्मा २५ जना रहेका छन्।
जसमा धार्चुलास्थित तैनाथ भारतीय सेनाको लिथेन लाइट व्याट्रीका लेफ्टिनेन्ट कर्णेल दीपशिखाको नेतृत्व रहेको छ।