धनगढी : पाठेघरको नली फुटेर विरामी भएकी महिलाको जिल्ला मै शल्यक्रिया गरिएको छ । अत्याधिक रक्तश्राव भएपछि बिहीबार जिल्ला अस्पताल बझाङ ल्याइएकी ४० वर्षिया महिलाको साँझ नै शल्यक्रिया गरिएको जिल्ला अस्पताल बझाङले जनाएको छ । स्त्री रोग विशेषज्ञ नियमित नहुँदा विगतमा यस्ता जटिल समस्याको उपचारका लागि अन्यत्र रिफर गर्नुपर्थ्यो ।
पाठेरघमा बस्नु पर्ने बच्चा ठिक ठाउँमा नबसेर पाठेघरको नलीमा बसेको कारण जटिल अवस्थामा पुगेकी ४० वर्षिया सौरा देवी खड्काको शल्यक्रिया मार्फत उपचार गरिएको हो । उनि खप्तडछान्ना गाउँपालिका–७, गोर्खालीकी स्थानीय हुन ।
उनको शल्यक्रिया स्त्रीरोग विषेशज्ञ डा। नवराज जोशी र डा.सिद्धराज रोकायाको टोलीले गरेको जिल्ला अस्पतालका डा.पदम जोशीले बताए । उनले स्त्री रोग विषेशज्ञ चिकित्सक जिल्लामा नभएको भए उनलाई रिफर गर्नुपर्ने र ज्यान जाने जोखिम हुन सक्ने बताए । गत वर्ष यस्तै समस्या भएकी एक महिलालाई जिल्ला अस्पतालमा स्त्रीरोग विषेशज्ञ नहुादा रिफर गर्नु परेको उनले सुनाए ।
अस्पतालमा विषेशज्ञ चिकित्सक भएको बेला गत वर्ष यस्तै प्रकृतिका पाँच जना महिलाको शल्यक्रीया जिल्ला मै गरिएको थियो ।