काठमाडाैं: कैलालीको धनगढीमा अस्पताल खोल्ने भन्दै भाडामा लिइएको जग्गामा चर्च निर्माण गरिएको पाइएको छ। जिल्लाको धनगढी उपमहानगरपालिका–७ मनेहरामा छाला सम्बन्धी उपचारका लागि अस्पताल खोल्ने भन्दै चर्च निर्माण गरिएको हो।
सेमिनार र तालिम चलाउने भन्दै वडा कार्यालयबाट इजाजत लिएर सो भवनमा नेपाल लाइफ वर्ड मिसनले अहिले चर्च चलाएको छ। चर्चमा इसाई रिलिजन प्रचार गर्न दुई जना कोरियन नागरिक रहेका छन्।
चर्चमा हरेक शनिवार संगति लाग्ने गरेको छ। चर्चसँग प्रदेश ३–०१–०२२ च ५६९२ नम्बरको कार पनि छ। कारको अगाडिको सिसामा अस्पतालको संकेत जनाउने अङ्ग्रेजी ‘एच’ लेखिएको लोगो टाँसिएको छ। इसाईको प्रचारमा आएका कोरियनहरूलाई गाउँ लैजाँदा सो गाडीको प्रयोग हुने गरेको स्थानीयले बताएका छन्।
असार १५ गतेदेखि ‘नेपाल लाइफ वर्ड मिसन’ ले उक्त भवनमा धनगढी मण्डली सञ्चालनमा ल्याइएको छ। छालाको अस्पताल खोल्ने भन्दै स्थानीयलाई झुक्याएर आलिसान चर्च भवन निर्माण गरेर संगति लाग्न थालेपछि स्थानीयले जानकारी पाएका हुन्।
लेट मेइन धनगढी प्रालि नामक इसाई एनजीओले जग्गाधनी प्रभाकर भण्डारीबाट वार्षिक ३ लाख भाडा दिने शर्तमा १५ वर्षका लागि ४ कठ्ठा जग्गा लिजमा लिएको थियो। १५ वर्षपछि भवनभण्डारीकै हुने सर्तमा जग्गा लिजमा लिइएको हो। तर, लेट मेइनले करोडौं लगानी गरेर भवन निर्माण गरी मासिक १५ हजार भाडा लिनेगरी चर्चलाई भवन प्रयोग गर्न दिएको पास्टर प्रशान्त राईले बताए।
मेइनले छालाको अस्पताल नभएर सौन्दर्य सम्बन्धी क्लिनिक खोल्न भवन बनाएको र अहिले धनगढी मण्डलीलाई भवन प्रयोग गर्ने समझदारी भएको पास्टर राईको दाबी छ।
सोलुखुम्बु जिल्ला घर बताउने चर्चका पास्टर राईले वडा कार्यालय, नगरपालिका, जिल्ला प्रशासन कार्यालयबाट इजाजत लिएर चर्च चलाएको बताएका छन्। तर इजाजत प्राप्त गरेको प्रमाण देखाउन भन्दा अर्को दिन देखाउने भन्दै पास्टर राई पन्छिएका छन्।
यस्तै सोही क्रममा धनगढी उपमहानगरले यस विषयमा ध्यानाकर्षण भएको भन्दै हिजो स्पष्टीकरण माग गरेको छ। त्यसपछि आज कैलालीका सिडिओ र सुरक्षा निकायको टोलीले सो क्षेत्रको अनुगमन गरेको छ।
अचम्म त के छ भने प्रहरी प्रशासन र प्रशासनसँगै रहेको गुप्तचरी संस्था राष्ट्रिय अनुसन्धान विभागले चर्चबारे निकै होहल्ला भएपछि थाहा पाएको जनाएको छ। जिल्लामा भैरहेका गतिविधि प्रहरी प्रशासन र गुप्तचरकै जानकारीमा नहुनू रहस्यमय छ।
आज मङ्गलवार स्थानीयको गुनासो आएपछि प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रले चर्चको अनुगमन गरेका थिए। सो टोलीमा जिल्ला प्रहरी प्रमुख पदमबहादुर विष्ट, सशस्त्र प्रहरी र अनुसन्धानका अधिकारीसमेत थिए। यस्तै प्रमुख जिल्ला अधिकारीले छानविन नहुँदासम्म चर्चमा कुनै पनि गतिविधि नगर्न निर्देशन दिएका छन्।