काठमाडौं : विमान दुर्घटनामा सौर्य एअरलाइन्सको व्यवस्थापन समूहकै अधिकांश परेका छन् । व्यवस्थापन समूहमा रहेका १० मध्ये पाँच जनाले ज्यान गुमाएका हुन् ।
पोखरातर्फ परीक्षण उडान भर्ने क्रममा त्रिभुवन विमानस्थलको रन-वे छोड्ने बित्तिकै विमान दुर्घटनामा परेको थियो । नेपाल नागरिक उड्ययन प्राधिकरणले १८ जनाको मृत्यु भएको र एक जना उपचार क्रममा रहेको जनाएको छ ।
एअरलाइन्सका चिफ अफ सेफ्टी सागरकुमार आचार्य, चिफ अफ क्वालिटी एसुरेन्स दिलीप बर्मा, सीएएमओ अश्विनकुमार निरौला, मर्मत व्यवस्थापक यज्ञप्रसाद पौडेल र चिफ अफ अप्रेशन (क्याप्टेन) मनीषरत्न शाक्य दुर्घटनामा परेका हुन् । क्याप्टेन शाक्यलाई उपचारका लागि अस्पताल लगिएको हो ।
उद्धारमा खटिएका सुरक्षाकर्मीका अनुसार दुर्घटनामा हालसम्म १५ जनाको मृत्यु भएको र चार जनाको जीवितै उद्धार गरिएको छ । दुर्घटनामा परेको विमानमा सवार अधिकाश सौर्य एअरलाइन्सकै जनशक्ति थिए ।
नेपाल नागरिक उड्ययन प्राधिकरणले सौर्य एयरलाइन्सको जहाज दुर्घटनामा १८ जनाको मृत्यु भएको पुष्टि गरेकोछ । जसमा ज्यान गुमाउनेमध्ये सबै सौर्यकै व्यवस्थापनका सदस्य र कर्मचारी रहेका छन् ।
प्राधिकरणको खोज तथा उद्धार समन्वय केन्द्रले सौर्य एयरलाइन्सको सीआरजे सेभेन ९आईजी (एनएएमई) जहाज दुर्घटनामा परेको जनाएको छ।
उक्त जहाज काठमाडौंबाट स्थानीय समयअनुसार बिहान ११:११ बजे पोखरा उडानका क्रममा रनवे छाड्नेबित्तिकै दाहिनेतिर मोडिन गई एयरपोर्टको पूर्वतिरको स्थानमा दुर्घटनाग्रस्त हुन पुगेको प्राधिकरणले जनाएको छ ।
त्यसक्रममा १८ जनाको शव संकलन गरिएको उसको भनाइ छ । १ जना घाइतेलाई उद्धार गरि काठमाडौं मेडिकल कलेज शिक्षण अस्पताल पुऱ्याइएको प्राधिकरणले जनाएको छ ।