काठमाडौं : सरकारले पूर्वमुख्यसचिव शंकरदाश वैरागीलाई भारतका लागि नेपाली राजदूत बनाउने तयारी गरेको छ ।
स्रोतका अनुसार सत्ता गठबन्धनमा भएको भागबण्डामा चीन र अमेरिका एमाले र भारतका लागि नेपाली राजदूत कांग्रेसले लिने मोटामोटी समझदारी भएको छ ।
त्यसअनुसार कांग्रेसले सुरुमा भारतका लागि वर्तमान राजदूत डा शंकर शर्मालाई निरन्तरता लिन चाहेको थियो । तर प्रधानमन्त्री केपी शर्मा ओली तयार भएनन् ।
एमाले समेत सम्मिलित प्रचण्ड सरकारले उनलाई फिर्ता बोलाउने निर्णय गरेको थियो । आफूले नै फिर्ता बोलाउने निर्णय गराएको शर्मालाई निन्तरता दिँदा राम्रो सन्देश नजाने ओलीले बताएपछि नयाँ नाम खोजिएको थियो ।
कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री हुँदा परराष्ट्र सल्लाहकार रहेका अरुणकुमार सुवेदी पनि भारतका लागि राजदूत हुने दौडमा थिए । स्रोतका अनुसार उनीप्रति देउवा सकारात्मक पनि थिए । तर, एकाएक शंकरदास वैरागीले बाजी मार्ने अवस्था बनेको छ ।