काठमाडौं: नेकपा एमाले नेतृत्वको सरकारमा गृह मन्त्रालयको नेतृत्व नेपाली कांग्रेसले लिएलगत्तै नेपाल प्रहरीमा घुसपैठ सुरु भएको छ। गृहमन्त्री रमेश लेखकले प्रहरीमा हस्तक्षेप बढाइरहेको बताइएको छ। उनकै निर्देशनमा प्रहरीमा धमाधम काज सरुवा भैरहेको बुझिएको हो।
मन्त्री भएको एक सातामै उनले विभिन्न जिल्ला तथा कार्यालयका इन्चार्जहरु हटाएका छन्।
मन्त्रीकै निर्देशनमा तनहुँका एसपी अपिलराज बोहरालाई पाँच महिनामै हटाइएको छ। त्यहाँ कांग्रेसनिकट एसपी वीरेन्द्र शाहीलाई खटाइएको छ।
त्यस्तै, उदयपुरका एसपी रमेश थापाको पनि शुक्रबार प्रहरी प्रधान कार्यालयमा काज सरुवा भएको छ। एसपी थापाकै प्रस्तावअनुसार उनको सरुवा भएको बताइएको छ। उदयपुरमा एसपी हरिहरनाथ योगीलाई पठाइएको छ।
त्यस्तै, भोजपुरमा पनि कांग्रेसनिकट डिएसपी युवराज तिमल्सिनालाई पठाइएको छ। कास्कीको वडा प्रहरी कार्यालय, बैदाम, रौतहटको चन्द्रनिगराहपुर लगायत कार्यालयमा पनि छानी–छानी कांग्रेस निकट इन्चार्ज पठाइएको छ।
त्यस्तै जिल्ला प्रहरी कार्यालय बारामा कार्यरत प्रहरी नायव उपरीक्षक (डीएसपी) दधिराम न्यौपानेको पनि काज सरुवा भएको छ।
उनको अपराध अनुसन्धान विद्यालय महराजगंज, काठमाडौं काज सरूवा भएको हो। सरकार फेरिएपछि प्रहरीमा पनि त्यसको असर देखिएको छ।
र, यो पनि: गृहमन्त्रीका २ प्रेस सल्लाहकार, आउँदा आउँदै काजैकाज !