काठमाडौं: नेपाल प्रहरी र सशस्त्र प्रहरीकै अगाडि नेपालको जासुसी संस्था मानिने राष्ट्रिय अनुसन्धान विभागका एक सूचकमाथि कुटपिट भएको छ। नेपाल–भारत सीमानाका जमुनाहास्थित चेकपोष्ट नजिक सूचक अजुर्न खड्कामाथि कुटपिट भएको हो।
उनलाई नेपालगञ्ज उपमहानगरपालिका–४ स्थित कलपत्रु होटलमा सञ्चालित क्यासिनोका कर्मचारीले आक्रमण गरेको आरोप लागेको छ।
सो कुटपिट आरोपमा एक जनालाई गएराति प्रहरीले नियन्त्रणमा लिएको थियो।
तर, उनी कुटपिटमा संलग्न नभएको बताइएको छ। तर उनकै अर्को समूहले कुटपिट गरेको प्रहरीले जनाएको छ।
वडा नम्बर १५,जमुनाह भन्सारको चेकपोष्ट नजिकै भारतबाट नेपाल ल्याउँदै गरेको १८ लाख रुपैयाँ हिजो साँझ सूचक अर्जुन खड्काले नियन्त्रणमा लिएका थिए। उक्त रकम क्यासिनो तथा हुण्डी कारोबारका लागि ल्याइएको बुझिएको प्रहरीले जनाएको छ।
सो रकम नियन्त्रणमा लिएको केही समयपछि क्यासिनोका मान्छेले खड्कालाई रड तथा बियर बोतलले प्रहार गरेको विभागका प्रमुख (आइजी) हुतराज थापाले महेन्द्रनगरपोष्टलाई बताए। यस्तै एक समूहले सो रकम पनि खोसेर लगेको थियोे।
त्यसपछि उनीहरुले फेरि फर्किएर प्रहरीकै अगाडि सूचकमाथि बोतल, फलामको कुर्सीले प्रहार गरेको बताइन्छ। ती सूचकको टाउकोमा११ वटा टाँका लगाइएको छ। जिल्ला प्रहरी कार्यालय, बाँकेले घटनाबारे अनुसन्धान भइरहेको जनाएको छ।