धनगढी : धनगढीस्थित नोभा अस्पतालमा कञ्चनपुरका १७ वर्षीय नसिभ चौधरीको मृत्यु भएको छ। अस्पतालको लापरबाहीले नसिभको मृत्यु भएको भन्दै अहिले अस्पतालमा तनावको स्थिति उत्पन्न भएको छ।
बेलौरीका नसिभ साउन ७ गते सामान्य स्वास्थ्य समस्याका कारण चेकअपका लागि अस्पताल आएका थिए। उनलाई जण्डिस भएको पुष्टि भएपछि अस्पतालमा भर्ना गरिएको थियो।
नसिभका मामा रामकृष्ण चौधरीले अस्पतालले लापरबाही गरेको आरोप लगाएका छन्। उनका अनुसार परिवारले बारम्बार अन्यत्र रिफर गर्न आग्रह गरेका थिए।
तर, उनको भनाईअनुसार अस्पतालले न त उचित उपचार गर्यो, न त रिफर नै गर्यो। यस्तै अहिले उनीहरूले शव नबुझ्ने अडान लिएका छन्।
उता अस्पताल प्रशासनले भने लापरबाही नरहेको जनाएको छ। मृतकको उपचारमा डाक्टर रामचन्द पौडेल संलग्न थिए। मृतक बेलौरीको महाकाली बहुमुखी क्याम्पसमा ११ कक्षामा अध्ययन गरिरहेका थिए।
यस घटनाले अस्पताल परिसरमा तनावको स्थिति सिर्जना गरेकोमा प्रहरी खटिएको छ। त्यस्तै आफन्तले निष्पक्ष छानबिनको माग गरेका छन्।