धनगढी: सुदूरपश्चिम प्रदेश सरकारका पूर्व सामाजिक विकासमन्त्री एवं नेकपा माओवादी केन्द्रका नेता झपटबहादुर साउँदविरुद्ध ठगी मुद्दा परेको छ। अछामबाट प्रदेश सभा सदस्यमा निर्वाचित भएका साउँदविरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा परेको हो।
बझाङ स्थायी घर भएर काठमाडौंको टोखा नगरपालिका- ४ बस्दै आएका ३७ वर्षीय धनबहादुर बोहराले साउँदविरुद्ध ठगीको मुद्दा हालेका हुन्। बोहराले केही समय अगाडिमात्रै मुद्दा दायर गरेको महेन्द्रनगरपोष्टलाई जानकारी दिए।
उनका अनुसार साउँदले बोहराबाट १ करोड बढी रकम लिएर केही रकममात्रै फिर्ता गरेको र आधा करोड बढी रकम ठगी गरेकोले मुद्दा दायर गर्नुपरेको हो। यस्तै बोहराले साउँदविरुद्ध जिल्ला प्रहरी परिसर टेकुमा पनि जाहेरी दिन लागेको बताएका छन्।
साउँदको स्थायी ठेगाना अछाम जिल्लाको रामारोशन गाउँपालिका- ४ भएपनी उनी हाल लोकन्थली बस्दै आएका छन्। बोहराले साउँदविरुद्ध आफूमाथि करिब ५ वर्ष अगाडिदेखि ठगी हुँदै आएको र आफ्नै पैसा असुल गर्ने चक्करमा प्रहरी हिरासतमा बस्नुपर्ने सम्मको पीडा भोगेको बताएका छन्।
उनले साउँदले आफूलाई काठमाडौंमा पैसा दिन्छु भनेर बोलाई झुक्याएर थुनाएको आरोप पनि लगाएका छन्। आफूलाई जडिबुटीको व्यापारी दाबी गर्ने बोहराले पूर्वमन्त्री माननीय साउँदलाई १ करोड ६ हजार रकम नगद र बैंकमार्फत दिएकोमा अहिले आएर साउँदले पैसा दिन नमानेको जनाएका छन्। सोही कारण आफू अदालतको शरणमा पुगेको बोहराको दाबी छ।
बोहराका अनुसार साउँदले आफू माननीय, त्यसपछि मन्त्री भएपछि करोडौंको योजना तथा ठेक्का दिने शर्तमा पैसा मागेका थिए। तर उनले पैसा पचाएर कुनै ठेक्का तथा योजना नदिएको बोहराको भनाई छ।
त्यहीँ क्रममा साउँदले आफूलाई २०८१ जेष्ठ महिनाको तेस्रो हप्तातिर धनगढीबाट काठमाडौं बोलाएर पैसा दिन्छु भन्दै असारको मध्यतिर ऋण फिर्ता गर्नुको सट्टा उल्टै प्रहरीमा विद्युतीय अपराध ऐन अन्तरगतको उजुरी दिएर थुनाएको बोहराले बताए।
सो क्रममा प्रहरीले निज साउँद र उनका स्वकीय सचिव राजेन्द्र बहादुर साउँदले प्रहरीसहितको मिलेमतोमा आफ्नो मोबाईल कब्जामा लिएर लेनदेनका सबै प्रमाण नष्ट गरेको बोहराको जिकिर छ। कुल रकममध्ये केही रकम भने बोहरालाई पूर्वमन्त्री साउँदले फिर्ता गरेका थिए। अहिले उनी अदालतको तारिखमा छन्।
उसो त साउँदविरुद्ध मन्त्री हुँदै गर्दा जिल्ला प्रहरी कार्यालय कैलालीमा पनि सोही विषयमा उजुरी परेको थियो। तर त्यसबेला भने बोहरा र साउँदले लेनदेन मिलाउने सहमति गरेका थिए। तर सो सहमति कार्यान्वयन नभएको बोहराको गुनासो छ।
र, यो पनि: सुदूरपश्चिमका सामाजिक विकास मन्त्री साउदविरुद्ध परेको उजुरी फिर्ता
ज्यान मार्ने धम्की दिएपछि सुदूरपश्चिमका मन्त्री झपटविरुद्ध उजुरी