धनगढीः सुदूरपश्चिम प्रदेशका सामाजिक विकास मन्त्री झपट साउदविरुद्ध परेको उजुरी फिर्ता भएको छ।
बझाङको बुंगल नगरपालिका–१ का धनबहादुर बोहराले हिजो (सोमबार) साउदविरुद्ध उजुरी दिएका थिए।
तर, आज (मंगलबार) बोहराले उजुरी फिर्ता लिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक तथा प्रवक्ता कुलदिप चन्दले बताए।
चन्दका अनुसार बोहराले हिजो आफ्नो ज्यान सुरक्षाको माग गर्दै उजुरी दिएका थिए। तर, आज विहान मन्त्री जी र मेरो कुरो मिलिसकेको छ भन्दै प्रहरीमा दर्ता भएको निवेदन फिर्ता लिएका हुन्।
दुबै पक्षबिच विवाद मिलिसकेको प्रहरीले जनाएको छ। विहान मन्त्री साउद समेत प्रहरीमा पुगेका थिए।
बोहराले आफूले रामारोसन गाउपालिका–६ का विरबहादुर साउदको छोरा ४३ वर्षीय झपटबहादुर साउदले विभिन्न मितिमा मलाई साह्रै समस्या छ भनि रुपयाँ सापटी मागेको र उक्त रकम फिर्ता माग्दा ज्यान मार्ने धम्की दिएको भन्दै जिल्ला प्रहरी कार्यालय कैलालीमा निवेदन दर्ता गराएका थिए।