काठमाडौं: गण्डकी प्रदेशका भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्थामन्त्री राजिव गुरुङ अर्थात दिपक मनाङ्गे भित्री गञ्जी लगाएर कार्यकक्षमा बसेका छन्।
मन्त्रीको कार्यकक्षमा झुण्डाइएको नेपालको निशान छाप,राष्ट्रपति र प्रधानमन्त्रीको फोटो मुन्तिर उनी घरको बेडरुममा छँदा लगाउने पोशाकमा सजिएको फोटो सामाजिक सञ्जालमा भाइरल भएको छ। उनलाई धेरैजसोले नाम अनुसारको फोटो भनेर कमेन्ट गरेका छन्।
यसनिम्ति मनाङ्गे अर्थात् ‘म नाङ्गै’, डन विशेषण लगाइएको छ। भित्री वस्त्र गञ्जी लगाएर मन्त्रालयको कार्यकक्षमा बसेका प्रदेश मन्त्रीसँगै कालो चस्मा लगाएका अर्का एक जना घोसे मुन्टो लगाएर बसेका छन्। नजिकैको लुगा झुण्ड्याउने स्टान्डमा उनको रातो कोटजस्तै देखिने ज्याकेट झुण्डाइएको छ।
फोटोमा देखिएको उनको हाउभाउले कार्यकक्षमा कुनै टोली वा व्यक्तिसँग कुराकानी गरिरहेको अनुमान लगाउन सकिन्छ। राज्यले सम्मानित ओहोदामा बसेकाले औपचारिक कार्यक्रम र स्थलमा जाँदा लगाउने पोशाकसम्बन्धी निश्चित मापदण्ड बनाएको छ। त्यसमा पनि मन्त्रीले सँधै मर्यादित पोशाक लगाउनुपर्नेमा कसैको दुईमत देखिँदैन।
‘तर,उनको विगतलाई हेर्दा मनाङ्गेसँग मर्यादित पोशाक र आचरणको अपेक्षा गर्नु पनि राज्य र जनताको अर्को भूल हुनसक्छ,’ उनकै मन्त्रालयमा कार्यरत एक जना अधिकृतले भने।