काठमाडौं: क्रिप्टो कारोबारीसँग करिब ५० लाख रुपैयाँ असुलेको घटनामा दुई प्रहरीसहित तीन जनाविरुद्ध मुद्दा दायर भएको छ। कारोबारीसँग करिब ५० लाख रुपैयाँ असुलीको घटनामा दुई प्रहरीसहित तीन जनाविरुद्ध ठगी तथा आपराधिक विश्वासघातको मुद्दा दायर भएको हो।
ठगी तथा आपराधिक विश्वासघातको कसुरमा जिल्ला प्रहरी परिसर काठमाडौंको साइबर शाखाका सहायक हवल्दार गणेश खड्का, साइबर शाखाकै साजन शर्मा चपाई र खोटाङ घर भएका ३५ वर्षीय तेजबहादुर तामाङविरुद्ध मुद्दा दायर भएको हो। प्रहरीका अनुसार, तामाङ फरार रहेका छन् भने खड्का र चपाईलाई पक्राउ गरिएको छ। तीन जनाले क्रिप्टो कारोबारी आशिष आचार्यलाई पक्राउ गरी दुई दिनसम्म हिरासतमा राखी ५० लाख रुपैयाँ असुलेर छाडिएको खुल्न आएको छ।
काठमाडौं जिल्ला अदालतमा न्यायाधीश महेन्द्रबहादुर कार्कीको इजलासमा ठगी तथा आपराधिक विश्वासघातको कसुरमा उनीहरूविरुद्धको मुद्दाको सुनुवाई सुरु भएको छ। थुनछेक बहसपछि साधारण तारेख तथा धरौटीमा छाड्ने वा पुर्पक्षका लागि कारागार पठाउने भन्ने आदेश आउने छ।
५० लाख असुल गर्ने व्यक्ति तेजबहादुर तामाङलाई प्रहरीले मुख्य अभियुक्त बनाएर प्रहरीले अनुसन्धान अघि बढाएको थियो। तामाङले आरोपित व्यक्तिलाई नियन्त्रणमा लिन प्रहरीको प्रयोग गरी परिवारसँग ५० लाख रुपैयाँ असुल गरेको खुलेको थियो। तामाङ र प्रहरी हवल्दार खड्काबीचको मिलेमतोमा घटना भएको आशंकामा प्रहरी परिसरले सुरूमा आन्तरिक छानिबन थालेको थियो।
पछि काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीले एसपी प्रजित केसी नेतृत्वमा छानबिन समिति बनाएको थियो। उक्त समितिले पनि दुई जना प्रहरी र तामाङबीचको संलग्नतामा ठगी घटना भएको भन्दै कारबाही गर्न सिफारिस गरेको थियो। तर उक्त समितिले प्रहरीले रकम लिएको आधार भने भेटाएको थिएन।