धनगढी : कैलालीको धनगढीस्थित नोभा अस्पतालमा शुक्रबार कञ्चनपुर बेलौरी नगरपालिका–२ का १७ वर्षीय नसिब चौधरीको मृत्युको घटनापछि उत्पन्न विवादका कारण अस्पतालमा ढुंगामुढा भएको छ । मृतकका आफन्तले शनिबार बिहानैदेखि अस्पतालमा ढुंगामुढा प्रहार गरेर तोडफोड गरेका हुन् ।
धनगढीको नोभा अस्पतालमा ढुंगामुढा, सुरक्षाकर्मीद्वारा ९ सेल अश्रुग्यास प्रहार
अवस्थालाई नियन्त्रण लिन सुरक्षाकर्मीले कम्तीमा ९ सेल अश्रुग्यास प्रहार गरेका छन् । ६ सेल नेपाल प्रहरी र ३ सेल सशस्त्र प्रहरीले प्रहार गरेको सुरक्षा स्रोतले जनाएको छ ।
मृतकका आफन्तहरूका अनुसार अस्पतालको लापरबाहीले नसिबको मृत्यु भएको भन्ने छ । अस्पतालको लापरबाहीकै कारण मृत्यु भएको दाबी गरिरहेका उनीहरूले मृतकको शव उठाउन मानेका छैनन् । उपचारमा संलग्न चिकित्सकलाई कारबाही र मृतक परिवारलाई क्षतिपूर्ति दिनुपर्ने आफन्तको माग छ ।
नसिब साउन ७ मा उपचारका लागि धनगढीस्थित नोभा अस्पताल आएका थिए । अस्पतालले उनलाई जण्डिस भएको जानकारी गराउँदै भर्ना गरेको थियो । त्यस क्रममा शुक्रबार उनको मृत्यु भएको हो । मृतकका मामा रामकृष्ण चौधरीका अनुसार अस्पतालले सुरुमा अर्को अस्पतालमा लैजान्छौं भन्दा लान नदिएको र अन्तिम समयमा मुटुको डाक्टर नभएको बताएर नेपालगन्ज लैजान भनेको थियो । तर पैसा नतिर्दासम्म बिरामीलाई निकाल्न नदिएको र समयमै राम्रो अस्पतालमा पुर्याउन पाएको भए भान्जाको मृत्यु नहुने चौधरीको भनाइ छ ।
शनिबार बिहान छलफल चलिरहेका बेला एक्कासि अस्पतालमा ढुंगामुढा भएको कैलालीका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रले बताए । ‘अवस्थालाई नियन्त्रण गर्न नेपाली प्रहरी र सशस्त्र प्रहरीबाट अश्रुग्यासका केही सेल प्रयोग गर्नुपरेको हो,’ उनले भने, ‘सुरक्षाकर्मीले संयमता अपनाएका छन् । अहिले वार्ताको प्रयास भइरहेको छ ।’