धनगढी : धनगढीको नोभा अस्पतालमा मृत्यु भएका कञ्चनपुरका नसिभ चौधरीको परिवारले शव बुझ्ने भएका छन्।
क्षतिपूर्ति दिने सहमति भएपछि उपचारका क्रममा मृत्यु भएका नसिभको परिवारले शव बुझ्न तयार भएका हुन्।
मृतकका परिवारलाई क्षतिपूर्ति वापत साढे १३ लाख रुपैयाँ दिने, शनिबारको प्रदर्शनका क्रममा घाइते भएका दुई जनाको उपचार, शव परीक्षण गरेर घरसम्म पुगाउने खर्च व्यहोर्ने सहमति भएको छ।
मृतकका मामा रामकृष्ण चौधरीले पनि अस्पताले परिवारलाई क्षतिपूर्ति दिने, घाइते दुई जनाको उपचार गरिदिने र शव परीक्षणको जिम्मा लिने सहमति भएको जानकारी दिए। चौधरीले उक्त सहमतिपछि शव परीक्षणको प्रक्रिया अघि बढाइएको बताए।
जन्डिसको समस्या लिएर ७ साउनमा अस्पताल भर्ना भएका चौधरीको शुक्रबार दिउँसो मृत्यु भएको थियो। सामान्य अवस्थामा अस्पताल भर्ना भएका चौधरीको स्वास्थ्य स्थिती बिग्रिदै जादा समेत अन्यत्र रेफर गरिएको थिएन। तर शुक्रबार अवस्था निकै बिग्रिएपछि अन्तिम समयमा अस्पतालले नेपालगञ्ज वा भारतको बरेली लैजान भन्दै रेफर गरेको थियो।
दिउँसो साढे ३ बजे नेपालगञ्ज लैजान एम्बुलेन्समा राख्ने क्र्रममा चौधरीको मृत्यु भएको थियो। त्यसपछि आफन्तले अस्पतालको लापरवाहीका कारण चौधरीको मृत्यु भएको भन्दै शव बुझ्न मानेका मानेका थिएनन्। तर अस्पतालले भने उपचारमा कुनै लापरवाही नभएको दाबी गरिरहेको थियो।
उपचारमा लापरवाही गर्ने डाक्टरलाई कारवाही र मृतकका परिवारलाई क्षतिपूर्ति दिनुपर्ने माग गर्दै आफन्तले शनिबार अस्पतालमा तोडफोड गरेका थिए।
आक्रोशित समूहले अस्पतालमा ढुंगामुढा प्रहार गर्न थालेपछि प्रहरीले अश्रुग्यास प्रहार गरेर स्थिती नियन्त्रणमा लिएको थियो।
र, यो पनि: धनगढीको नोभाकाण्ड: २० लाख बराबरको तोडफोड !
धनगढीको नोभाकाण्ड : सुरक्षाकर्मीद्वारा ९ सेल अश्रुग्यास प्रहार
धनगढीको नोभाकाण्ड: अस्पताल फुटाइयो, पुलिसद्वारा अश्रुग्यास प्रहार
धनगढीको नोभामा राति ढुङ्गामुढा, नर्स थिइन् छलफलमा
धनगढीको नोभामा कञ्चनपुरका नसिभको मृत्यु, डाक्टरको लापरबाही