धनगढी: धनगढीस्थित नोभा अस्पतालमा तनाव भएपछि प्रहरीले कडा सुरक्षा तैनाथी बढाएको छ। हिजोबाट एकजनाको मृत्युकाण्डका कारण तनाव भैरहेको नोभामा अहिलेसम्म पनि सहमति हुन सकेको छैन।
हिजो शुक्रबारमात्रै जन्डिसको समस्या लिएर हस्पिटलमा भर्ना भएका कञ्चनपुरको बेलौरीका १७ वर्षीय नसिभ चौधरीको मृत्यु भएको थियो। सोही विषयलाई लिएर आफन्तहरुले अस्पतालमा तनाव सिर्जना गरेका हुन्।
सामान्य अवस्थामा ल्याइएका चौधरीको अस्पतालको लापरवाहीका कारण मृत्यु भएको भन्दै आक्रोशित आफन्तले ढुंगामुढा प्रहार गर्दै तोडफोड गरेका थिए। त्यसपछि प्रहरीले स्थिती नियन्त्रणमा लिन केही राउण्ड अश्रुग्यास प्रहार गरेको छ। जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक(एसपी) पदमबहादुर बिष्टले अस्पताल बाहिर भेला भएका आफन्तले ढुंगामुढा गर्न थालेपछि स्थिती नियन्त्रणमा लिन अश्रुग्यास प्रहार गरिएको बताए।
उनकाअनुसार अश्रुग्यास प्रहार गरेपछि अहिले उनीहरु तितरवितर भएका छन् भने अस्पतालले मृतक पक्षसँग वार्ता गरिरहेको छ। जन्डिसको समस्या लिएर ७ साउनमा अस्पताल भर्ना भएका चौधरीको अवस्था जटिल बन्दै गएपछि समेत अन्यत्र रेफर गरिएको थिएन।
शुक्रबार अन्तिम समयमा आएर मात्र अस्पतालले नेपालगञ्ज वा भारतको बरेली लैजान भनेको थियो। दिउँसो साढे ३ बजे नेपालगञ्ज लैजान एम्बुलेन्समा राख्ने क्रममा चौधरीको मृत्यु भएको थियो। आफन्तले अस्पतालको लापरवाहीका कारण उनको मृत्यु भएको भन्दै शव बुझ्न मानेका छैनन् भने डाक्टरलाई कारवाही र क्षतिपूर्तिको माग गरेका छन्।
अस्पताल प्रशासनले शुक्रबार साँझदेखि मृतकका आफन्तसँग वार्ता गरेपनि कुरा मिल्न सकेको छैन।
मृतकको उपचारमा डाक्टर रामचन्द पौडेल संलग्न थिए। मृतक बेलौरीको महाकाली बहुमुखी क्याम्पसमा ११ कक्षामा अध्ययन गरिरहेका थिए।
र, यो पनि: धनगढीको नोभामा राति ढुङ्गामुढा, नर्स थिइन् छलफलमा
धनगढीको नोभामा कञ्चनपुरका नसिभको मृत्यु, डाक्टरको लापरबाही