दार्चुला – दार्चुलामा आसन्न स्थानीय तह निर्वाचनलाई लक्षित गरेर निर्वाचन सुरक्षा रणनीति तयार पारिएको छ ।
जिल्लास्थित सुरक्षा निकायको समन्वयमा दार्चुलाका ११० मतदानस्थल र १३९ मतदान केन्द्रलाई लक्षित गरी मतदानअघि, मतदान र मतगणनासम्मको अवस्थालाई ध्यानमा राखेर सुरक्षा रणनीति तयार गरी कार्यान्वयनमा ल्याइएको जिल्ला प्रशासन कार्यालय दार्चुलाले जनाएको छ ।
जिल्ला प्रशासन कार्यालय दार्चुलाका अनुसार निर्वाचनमा नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, राष्ट्रिय अनुसन्धान विभाग, म्यादी प्रहरी र नेपाली सेनासमेत परिचालन गर्ने गरी प्रभावकारी सुरक्षा योजना अनुसार परिचालन गरिएको प्रमुख जिल्ला अधिकारी दिर्घराज उपाध्यायले जानकारी दिनुभयो ।निर्वाचनलाई निष्पक्ष, स्वतन्त्र र भयरहित वातावरणमा सम्पन्न गराउनका लागि आवश्यक सुरक्षा रणनीति कार्यान्वयनमा ल्याएको प्रजिअ उपाध्यायले जानकारी दिनुभयो । नेपाली सेना र सशस्त्र प्रहरी निर्वाचन हुने ठाउँ–ठाउँमा पुगिसकेका छन् भने नेपाल प्रहरी र म्यादी प्रहरी मतदान अधिकृतसँग पुग्ने तयारी भएको उहाँको भनाइ छ ।
निर्वाचनलाई शान्त, सुरक्षित, निष्पक्ष तथा स्वतन्त्र ढङ्गले भयरहित वातावरणमा सम्पन्न गर्न सुरक्षा रणनीति प्रभावकारीरूपमा कार्यान्वयन गरिएको बताइएको छ ।
निर्वाचन अवधिभर जिल्लाभरी झण्डै २ हजार भन्दा बढि सुरक्षाकर्मी परिचालन हुनेछन् ।मतदानपूर्व, मतदान र मतदानपछिको तीन चरणमा सुरक्षा रणनीति तयार गरिएको छ । यही वैशाख २५ देखि २८ गतेभित्रमा सम्पूर्ण मतदानस्थलमा सुरक्षाकर्मी खटिसक्ने छन् । भौगोलिक अवस्था, सञ्चार र यातायात सुविधा, विगतका चुनावमा भएका घटनाका आधारमा मतदानस्थललाई वर्गीकरण गरिएको छ । चुनाव प्रचार र मौन अवधिमा आचारसंहिता उल्लङ्घन हुँदाको अवस्थालाई सुरक्षा चुनौतीका रूपमा हेरिएको छ ।
निर्वाचनमा तीन घेरामा सुरक्षाकर्मी परिचालन,
वैशाख ३० मा हुन गइरहेको स्थानीय तह निर्वाचनका लागि मतदाताको चापदेखि विगतका घटनासम्मलाई हेरेर दार्चुलामा अति संवेदनशील केन्द्रहरु चयन भएका छन्। निर्वाचन आयोगले तयार पारेको १ सय १० मतदान स्थल र १ सय ३९मतदान केन्द्रमध्ये निर्वाचनमा सुरक्षा दृष्टिले ११ वटा मतदान स्थललाई अति संवेदनशील, ११ वटा मतदान स्थललाई संवेदनशील र ८८ वटा मतदानस्थल सामान्य रहेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
भौगोलिक विकटता, सडक सञ्जाल नपुगेको स्थान, बेलाबेलामा झैझगडा तथा बदमासी हुने ठाउँ, विभिन्न जातजातिको बसोवास भएको लगायतका आधारमा मतदान स्थललाई अति संवेदनशील, संवेदनशील र सामान्यमा वर्गीकरण गरिएको सहायक प्रमुख जिल्ला अधिकारी हेमन्ती साउदले जानकारी दिनु भएको छ । अति संवेदनशील मानिएको स्थानमा निर्वाचन विरोधी गतिविधि हुन नदिन थप सुरक्षाकर्मी खटाइने जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।
निर्वाचनलाई स्वच्छ, शान्तिपूर्ण र भयरहित रुपमा सम्पन्न गराउन म्यादी, नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेना गरी २ हजार जना सुरक्षाकर्मी परिचालन गरिने भएको छ। निर्वाचनमा सेनाको भूमिका प्रत्यक्ष रुपमा नहुने भएपछि सेना सबै तेस्रो घेरामा सहायताका लागि तयारी अवस्थामा रहने प्रमुख जिल्ला अधिकारी दिर्घराज उपाध्यायले जानकारी दिनुभयो ।
निर्वाचनको पहिलो घेरामा म्यादी प्रहरी र नेपाल प्रहरी, दोस्रो घेरामा सशस्त्र प्रहरी र तेस्रो घेरामा नेपाली सेना परिचालन हुने उहाँले बताउनुभयो । दार्चुला जिल्ला भरिको मतदाता संख्या ४५ हजार १ सय ११ पुरुष र ४३ हजार १ सय ७४ महिला गरि ८८ हजार २ सय ८५ मतदाता रहेको निर्वाचन कार्यालय दार्चुलाले जनाएको छ । स्थानीय तहगत रुपमा मतदाता हेर्दा अपिहिमाल गाउँपालिकामा २ हजार ३ सय ९४ जना पुरुष र २ हजार २ सय ५७ महिला गरि ४ हजार ६ सय ५१ मतदाता रहेका छन् ।
अपिहिमाल गाउँपालिकामा ८ वटा मतदान स्थल र ९ वटा मतदान केन्द्र तोकिएको छ । दुँहु गाउँपालिकामा ४ हजार १ सय ८० पुरुष र ४ हजार ९६ महिला गरि ८ हजार २ सय ७६ मतदाता रहेका छन् भने ५ वटा मतदान स्थल र ११ वटा मतदान केन्द्र तोकिएको छ ।
नौगाड गाउँपालिकामा ५ हजार ५२ पुरुष र ४ हजार ५ सय ८४ महिला गरि ९ हजार ५ सय ९६ मतदाता रहेका छन् भने १२ वटा मतदान स्थल र १४ वटा मतदान केन्द्र तोकिएको छ । व्यास गाउँपालिकामा ४ हजार ४ जना पुरुष र ३ हजार ८ सय महिला गरि ७ हजार ८ सय ४ कुल मतदाता रहेका छन् भने ११ वटा मतदान स्थल र १३ वटा मतदान केन्द्र तोकिएको छ । महाकाली नगरपालिकामा ६ हजार ६ सय ६१ पुरुष र ६ हजार ६ सय २३ महिला गरि कुल १३ हजार २ सय ८४ मतदाता रहेका छन् भने १५ वटा मतदान स्थल र २० वटा मतदान केन्द्र तोकिएको छ । मार्मा गाउँपालिकामा ४ हजार ७ सय ७७ पुरुष र ४ हजार ५ सय ८ महिला गरि ९ हजार २ सय ८५ कुल मतदाता रहेका छन् भने १४ मतदान स्थल र १६ मतदान केन्द्र तोकिएको छ । मालिकार्जुन गाउँपालिकामा ५ हजार ८ सय १८ पुरुष र ५ हजार ५ सय २ महिला गरि ११ हजार ३ सय २० जना मतदाता रहेका छन् भने १५ वटा मतदान स्थल र १८ वटा मतदान केन्द्र तोकिएको छ ।
लेकम गाउँपालिकामा ५ हजार १६ पुरुष र ४ हजार ७ सय ५४ महिला गरि कुल ९ हजार ७ सय ७० मतदाता रहेका छन् भने १३ मतदान स्थल र १६ वटा मतदान केन्द्र तोकिएका छन् ।शैल्यशिखर नगरपालिकामा ७ हजार २ सय ४९ पुरुष र ७ हजार ५० महिला गरि १४ हजार २ सय ९९ कुल मतदाता रहेका छन् भने १७ मतदान स्थल र २२ मतदान केन्द्र तोकिएको छ । स्थानीय तहको निर्वाचन सुरक्षाका लागि दार्चुलामा ३६० जना सशस्त्र प्रहरी परिचालन गरिएको छ । स्थानीय तह निर्वाचनका लागि दार्चुलामा एक हजार ८१ जना कर्मचारी खटिने भएका हुन् ।
नौवटै स्थानीय तहका ११० मतदान स्थल र १३९ मतदान केन्द्रमा एक हजार ८१ कर्मचारी खटिएका छन । स्थानीय तह निर्वाचनमा दार्चुलाका लागि आवश्यक पर्ने मतपत्र जिल्ला सदरमुकाम खलङ्गा आइपुगेको छ । दार्चुलाका नौवटै स्थानीय तहका लागि ९० हजार नौ सय मतपत्र आएको तथा आएको मतपत्र स्थानीय तहमा पठाउन थालिएको छ ।