धनगढीः सुदूरपश्चिम प्रदेशका पूर्व आर्थिक मामिला मन्त्री घनश्याम चौधरीका स्वकीय सचिव शंकर चौधरीले किसानबाट २६ लाख ४० हजार संकलन गरेको पाइएको छ।
कैलालीको कैलारी गाउँपालिकाको विवादित पावर टिलर प्रकरणमा पूर्वमन्त्रीका स्वकीय सचिव चौधरीले ५० प्रतिशत अनुदानमा पावर टिलर दिने भन्दै किसानबाट रकम संकलन गरेका हुन्। उनले हसुलियामा आयोजित सार्वजनिक कार्यक्रममा पनि सो कुरा स्वीकार गरेका छन्। कैलारी गाउँपालिकाका अध्यक्ष राजसमझ चौधरीले स्वकीय सचिव चौधरीले किसानबाट लिएको २६ लाख ४० हजार रुपैयाँ एक हप्ताभित्र फिर्ता गर्ने सम्झौता गाउँपालिकासँग गरेको बताए।
उनले २२ जना किसानबाट एक लाख २० हजारका दरले रकम संकलन गरेको स्वीकार गरेको अध्यक्ष चौधरीले बताए। उनले भने, ‘अहिले पनि रकम उठाउने गरिएको रहेछ। उहाँलाई मैले कार्यालयमा बोलाए। २२ जनाबाट उठाउनुभएको रहेछ। एक हप्ताभित्र फिर्ता गर्न कागज बनाएको छु। एक हप्तामा फिर्ता नगरे कानुनी प्रक्रिया जाने भनेको छु।’
एक हप्ताभित्र किसानको पैसा फिर्ता नगरे स्वकीय सचिव चौधरी विरुद्ध कानुनी कारवाहीको प्रक्रिया अगाडि बढाइने गाउँपालिका अध्यक्ष चौधरीले बताए। स्वकीय सचिव चौधरी नागरिक उन्मुक्ति पार्टी कैलारी गाउँपालिका संयोजक समेत हुन्।