धनगढी : सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घ सोडारीले यही शुक्रबार विश्वासको मत लिने भएका छन् । उनले आज प्रदेशसभा सचिवालयमा विश्वासको मत लिने उद्देश्यले बैठक आह्वान गर्न भन्दै पत्र पठाएका छन् ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयबाट आएको पत्रअनुसार शुक्रबार साँझ ४ बजे प्रदेशसभा बैठक आह्वान गरिएको प्रदेशसभा सचिवालयका सचिव देवबहादुर बोगटीले जानकारी दिए ।
असार २० गते एमालेले समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री सोडारी अल्पमतमा परेका थिए । उनले साउन १८ गतेभित्र विश्वासको मत लिनुपर्ने वा राजीनामा दिनुपर्ने संवैधानिक व्यवस्था छ ।
मुख्यमन्त्री सोडारीले विश्वासको मत लिने उद्देश्यले बैठक आह्वान गरिएको भए पनि उनले बैठकमा सम्बोधन गरेर राजीनामा दिने सम्भावना रहेको स्रोतले जनायो ।
मुख्यमन्त्री सोडारी अल्पमतमा परेपछि सरकारले असार १ गते ल्याएको बजेट पनि पारित हुन सकेको छैन । बजेट पारित नहुँदा अहिले प्रदेश सरकार बजेट शून्यतामा पुगेको छ ।