धनगढी: सुदूरपश्चिमको मुख्यमन्त्रीमा नेपाली कांग्रेसबाट प्रकाशबहादुर देउवा पक्कापक्की जस्तै भएको बताइएको छ। हालका संसदीय दल नेता कमलबहादुर शाह राजी भएको अवस्थामा देउवा मुख्यमन्त्री बन्ने बाटो खुलिसकेको बताइएको हो।
स्रोतका अनुसार उनी हालकी परराष्ट्र मन्त्री तथा काकीसमेत पर्ने आरजु राणा देउवाको दबाबकै कारण मुख्यमन्त्री बन्न लागेका हुन्। पहिले पीए बसेर आरजुसामु यसम्यान भतिजको छवि बनाएका देउवालाई पद दिलाउन आरजुले नेपाली काँग्रेसका सभापति तथा आफ्ना पति शेरबहादुर देउवासहित शीर्ष नेताहरुलाई समेत थ्रेट गरेको पनि बताइन्छ। स्रोतका अनुसार उनले सुदूरपश्चिमका सिनियर नेताहरुलाई सहिद बनाउने गरि देउवालाई मुख्यमन्त्री बनाउने तयारी गरेकी हुन्।
जसका लागि भोलि (शुक्रबार) दिउँसो बस्ने संसदीय दलको बैठकले दलको नेता टुंगो लगाउने र नेता देउवालाई नेता बनाउने तयारी रहेको एकजना प्रदेशसभा सदस्यले बताए।
केन्द्रमा सहमति गराएर सबै मिलिसकेको र हालका दल नेता तथा पूर्व मुख्यमन्त्री कमलबहादुर शाहलाई दलको नेताबाट हटाएर देउवालाई पठाउने तयारी गरिएको उनले बताए।
यसो हुँदा मुख्यमन्त्रीको दौडमा रहेका सिनियर नेता बहादुर सिंह थापा, कमल बहादुर शाह, बिक्रम धामी र दिवान सिंह बिष्ट भने चेपुवामा परेका छन्।
देउवा सुदूरपश्चिम सरकारको पूर्व भौतिक पूर्वाधार विकास मन्त्री हुन्। तत्कालीन समयमा आरजुकै जोडबलमा उनी मन्त्री हुँदा पनि मुख्यमन्त्री शाहलाई उनैले चलाएको आरोप लाग्दै आएको छ। त्यतिमात्र होइन, उनी निवास प्रकरणदेखि विभिन्न मामिलामा विवादित भएका पात्र हुन्। उनको नाम प्रहरीका विभिन्न सरुवा बढुवामा रकम लिने गरेको विषयमा पनि जोडिने गरेको छ। केहीको त बढुवाका लागि भन्दै रकम उठाएर काम नभएपछि फिर्ता गर्ने भन्दै नगरेको पनि पाइएको छ।
तर उनी देउवा परिवारकै सदस्य भएका कारण मुख्यमन्त्री बन्न लागेको काङ्ग्रेसकै एक नेताले बताए। उनका अनुसार परिवारबादले सिनियर नेता तथा कार्यकर्ता सुदूरपश्चिममा किनारामा परेको उनको भनाई छ।
नेपाली कांग्रेस र एमालेको नयाँ सत्ता समीकरणमा सुदूरपश्चिमको मुख्यमन्त्रीको पद कांग्रेसको भागमा परेको थियो।
सुदूरपश्चिममा नेपाली कांग्रेसबाट १८ जना प्रदेश सभा सदस्यहरू रहेका छन् भने एमालेका ११ जना प्रदेश सभा सदस्यहरू छन्। सुदूरपश्चिममा बहुमतको सरकार गठनका लागि २७ जना प्रदेश सभा सदस्य आवश्यक पर्छन्। कांग्रेस र एमालेसँग मात्र २९ जना प्रदेश सभा सदस्यहरू छन्।
उता नागरिक उन्मुक्ति पार्टी (नाउपा)का सात जना प्रदेश सभा सदस्यहरू छन्। नाउपाले कांग्रेस–एमालेसँगै सरकारमा जाने वा प्रतिपक्षमा बस्ने कुनै निर्णय गरेको छैन।