धनगढी : कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका–२ की २६ वर्षीया हिरा शाहलाई आक्रमण गरेर ज्यान लिने हिंस्रक बाघ अझै नियन्त्रणमा आएको छैन।
शुक्लाफाँटा राष्ट्रिय निकुञ्जबाट हात्तीसहितको टोली परिचालन हुँदा पनि बाघलाई नियन्त्रणमा लिन नसकिएको हो।
घटनास्थल नजिकै उखुबारीमा बाघले कहिले यता, कहिल्यै उता मुभमेन्ट गरिरहेकोेले नियन्त्रणमा लिन गाह्रो भइरहेको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका संरक्षण अधिकृत मनोज ऐरले जानकारी दिए।
अबेर राति भइसक्दा पनि हिंस्रक बाघ नियन्त्रणमा लिन नसक्दा स्थानीय त्रसित बनेका छन्।
उखुबारीमा देखिएको बाघ नियन्त्रणमा लिन बिहीबार दिउँसो ४ बजे शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको पिपरैया र शुक्ला पोष्टबाट ४ हात्ती परिचालन गरिएका थिए। बाघलाई नियन्त्रणमा लिन ४ घण्टा प्रयास गर्दा पनि सफल हुन सकेको छैन।
डार्ट गरेर बाघलाई नियन्त्रणमा लिने गरिन्छ। नियन्त्रणमा नआए राति हात्ती सहितको सुरक्षाकर्मीको टोलीले पहरा दिनेछ।
बाघ लुकेको उखुबारी झण्डै १० बिगाह क्षेत्रफलमा फैलिएको छ। उखुबारीलाई सुरक्षाकर्मीले सेतो कपडाले घेरेका छन्।