काठमाडौं: प्रधानमन्त्री केपी शर्मा ओलीले तीन राज्यमन्त्री नियुक्त गरेका छन्। शुक्रबार तीन राज्यमन्त्री नियुक्त गरिएको प्रधानमन्त्रीको सचिवालयले जानकारी गराएको छ।
उनले नागरिक उन्मुक्ति पार्टीबाट अरुणकुमार चौधरी र काङ्ग्रेसबाट रूपा विक र पूर्णबहादुर तामाङलाई राज्यमन्त्रीमा नियुक्त गरेका हुन्।
राज्यमन्त्री नियुक्त कैलालीका अरुण राष्ट्रपतिबाट माफी पाएका व्यक्ति हुन्। उनलाई राष्ट्रपति विद्यादेवी भण्डारीले प्रजातन्त्र दिवसको उपलक्ष्यमा सजाय माफी गरिदिएकी थिइन्।
२०६६ भदौ ३ मा ट्र्याक्टर जलाएको भन्दै २०७० वैशाख ९ गते कैलाली जिल्ला अदालतले अरुण चौधरीसहित तीन जनालाई छ महिना कैद सुनाएको थियो। यतिमात्र होइन, अहिले पनि उनी कालोसूचीमा रहेका व्यक्ति हुन्।
उनले आफ्नो कैलालीस्थित लम्कीको जम्मा १ कट्ठा जग्गालाई सडकसमेत देखाएर ७ कट्ठा बनाई विभिन्न बैंकबाट लोन लिएका थिए। सो क्रममा उनले म्यानेजरलाई पैसा खुवाएको पनि बताइन्छ।
तर उनले सो लोन चुकाउन नसकेपछि यस अगाडी नै बैंकले उनको घर र जग्गा लिलामका लागि सार्वजनिक सूचना निकालेको थियो।
यसरी लिलामी गर्नेमा सिद्धार्थ बैंक, मेघा बैंक (अहिलेको इन्भेस्टमेन्ट) रहेका छन्। उनीहरूले हुनेवालाई मन्त्री चौधरीलाई सूचना निकालेर कालोसूचीमा राखेको पनि बुझिएको छ।
उनका बैंक खाताहरु पनि सबै रोक्का भएका छन्।
र, यो पनि: पूर्वअपराधी, कालोसूचीमा रहेका अरुण ओली सरकारको मन्त्री बन्दै